बाजुरा: हिमाली गाउँपालिका–४ बोर्तामा दशकौँदेखि सत्तामा रहेको काँग्रेस नेतृत्वप्रति स्थानीयको आक्रोश चुलिँदै गएको छ। यही वडा पूर्व मन्त्री बद्री पाण्डे र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लको गृह वडा भए पनि आधारभूत सेवाबाट बञ्चित हुनुपरेको भन्दै स्थानीयले खुलारुपमा बिराेध जनाएका छन।
स्थानीयबासीका अनुसार २०७४ सालदेखि काँग्रेस नेतृत्वमा पालिका सञ्चालनमा रहे पनि बोर्तामा खानेपानीको समस्या समाधान हुन सकेको छैन। गाउँमा पानीका लागि दिनरात लाइन बस्नुपर्ने बाध्यता कायमै छ। “घरघरमा धारा पुर्याउने कुरा त टाढाको भयो, पिउने पानीकै लागि संघर्ष गर्नुपरेको छ,” एक स्थानीयले गुनासो गरे।
स्थानीयवासीले पालिका नेतृत्वले पार्टीगत आधारमा विभेद गरेको आरोप लगाएका छन्। उनीहरू भन्छन्, “सामान्य सिफारिस लिन पनि काँग्रेसकै कार्यकर्ता हुनुपर्छ, नत्र काम अड्काइन्छ।” यस किसिमको व्यवहारलाई उनीहरूले निरंकुश शासनको संज्ञा दिएका छन्।
बोर्तामा खानेपानी, सडक, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय सुधार नभएको स्थानीयको भनाइ छ। “नेतृत्व आफ्नै गृह वडामा विकास देखाउन नसक्नु लज्जास्पद हो,” अर्का एक स्थानीयले बताए। लामो समयसम्म सहेर बसेको बताउँदै स्थानीयले अब यो शासनको अन्त्य गर्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहीबार