बाजुरा : २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएर संसद् पुगेका थापा यसपटक फेरि बाजुराको प्रत्यक्ष चुनावी मैदानमा छन् । लोकतान्त्रिक अभ्यासको सबैभन्दा महत्वपूर्ण पर्व निर्वाचन हो । तर कहिलेकाहीँ यही लोकतान्त्रिक यात्राका बीच निजी जीवनका गहिरा पीडाहरू पनि आइपुग्छन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि बाजुराबाट उम्मेदवार रहेका लालबहादुर थापाका लागि यसपटकको चुनाव केवल राजनीतिक प्रतिस्पर्धा मात्र होइन, एक परीक्षा बनेको छ ।
उनकी माता कलसी थापाको माघ २५ गते ८९ वर्षको उमेरमा निधन भयो। आमाको निधनले घरआँगनमा शोकको सन्नाटा छाएको छ । संस्कार र सामाजिक कर्तव्य पूरा गर्ने क्रममा परिवार शोकमग्न छ । तर यिनै दिनहरूमा चुनावी अभियान पनि चरम गतिमा अघि बढिरहेको छ ।राजनीतिमा सक्रिय व्यक्तित्वका लागि निजी जीवन र सार्वजनिक जीवनबीच सन्तुलन मिलाउनु सजिलो हुँदैन ।
अझ शोकजस्ता संवेदनशील क्षणमा त्यो सन्तुलन झन् कठिन हुन्छ । एमालेबाट उम्मेद्धार बनेका थापा अहिले यही दोहोरो दायित्वको बीचमा उभिएका छन् । एकातिर आमाको स्मृति र परिवारको भावनात्मक अवस्थाको भार, अर्कोतिर जनताको आशा र निर्वाचनको जिम्मेवारी । थापाले आमाको अन्त्येष्टि गरेको केही दिनबाटै चुनावी अभियान सुरु गरेका थिए । “आमाले सधैं जनताको सेवा गर्न सिकाउनुभयो, त्यसैले उहाँकै प्रेरणाले म अभियानमा फर्किएँ,” थापाले गाउँमा हुने कार्यक्रममा भावुक हुँदै भन्दै आएका छन् ।
थापाकी आमा अनुशासन र इमानलाई सर्वोपरि ठान्ने महिला थिइन् । गाउँमा सादा जीवन जिएकी उनले छोरालाई शिक्षा र सेवा नै जीवनको मुख्य उद्देश्य बनाउन प्रेरित गरिन् । स्थानीय गणेश थापाले भने, “थापाको व्यवहारमा सधैं विनम्रता देखिन्छ, त्यो उहाँले घरबाटै पाउनुभएको संस्कार हो।” उनल भने । ग्रामीण पृष्ठभूमिबाट उठेका नेताहरूका लागि पारिवारिक संस्कार र सामाजिक उत्तरदायित्वको सम्बन्ध अझ गहिरो हुन्छ । बाजुराजस्तो दुर्गम जिल्लामा राजनीतिलाई केवल सत्ताको अभ्यासका रूपमा होइन, सेवा र पहुँचको माध्यमका रूपमा हेरिन्छ । थापाको वर्तमान परिस्थिति यही मानवीयतासँग जोडिएको छ ।
बाजुरा भौगोलिक रूपमा दुर्गम, विकासका आधारभूत पूर्वाधारमा पछाडि परेको जिल्ला हो । सडक, स्वास्थ्य सेवा, शिक्षा र रोजगारीका सवाल यहाँका स्थायी मुद्दा हुन् । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू आ–आफ्ना एजेन्डा लिएर मतदाता माँझ पुगेका छन् । यसबीच थापा पनि आफ्नो चुनावी माहोलमा हुमीएका देखीन्छन् ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आईतवार