सुशिल राेकाया: “बाजुरा जिल्लाको दुर्गम उत्तरी भेगमा अवस्थित कुन्ना–कोल्टी क्षेत्र लामो समयदेखि भौगोलिक कठिनाइ र सीमित पहुँचका कारण पछाडि पारिँदै आएको क्षेत्र हो।” बाजुरा जिल्लाको दुर्गम भूगोल बुढीनन्दा नगरपालिका र कुन्ना–कोल्टी क्षेत्रका नागरिकका आवश्यकता, समस्या र अपेक्षालाई राजधानीसम्म पुर्याएर समाधान निकाल्ने काम सजिलो थिएन। तर यही चुनौतीलाई संकल्पमा बदल्दै बुढीनन्दा नगरपालिकाका नगर प्रमुख तथा नेकपा (एमाले) का उपाध्यक्ष जनक कुमार बोहरा ले करिब दुई महिने काठमाडौं बसाइँलाई परिणाममुखी बनाउँदै नगर र कुन्नाबासिका लागी एकपछि अर्को महत्वपूर्ण उपलब्धि दिलाउन सफल भएका छन्।
२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा पराजय बेहोरेका बोहरा २०७९ को निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित भएपछि “पद होइन, परिणाम” लाई प्राथमिकता दिँदै दुर्गम क्षेत्रको जनजीवन परिवर्तन गर्ने अभियानमा निरन्तर जुटिरहनुभएको छ। सोही अभियानको ठोस उदाहरण बनेको छ उहाँको पछिल्लो दुई महिने दौड धुप। सबैभन्दा ऐतिहासिक उपलब्धिका रूपमा कोल्टीमा २५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक जग्गाका लागि २०८२ माघ १२ गते मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत भएको छ। लामो समयदेखि अल्झिएको यो विषय समाधान हुनु बाजुरा जिल्लाको माथिल्लो भेगका ४ वटा पालिकाका जनता, हुम्ला, मुगु र जुम्ला सहित समग्र कुन्ना क्षेत्रका नागरिकका लागि स्वास्थ्य सेवामा नयाँ युगको सुरुवात मानिएको छ।
साथै स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि NICk Simons Institute सँग सम्झौता भई एक जना एमडीजिपी डाक्टर, एक मेडिकल अधिकृत र एनेस्थेसिया सहित ७ जनाको स्वास्थ्य टोली पाँच वर्षसम्म कोल्टी अस्पतालमा रहने व्यवस्था गरिएको छ। यो निर्णयले स्थानीय कुन्ना क्षेत्रका बासिन्दालाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यतालाई धेरै हदसम्म अन्त्य गर्ने अपेक्षा समेत गरिएको छ। त्यसैगरी कोल्टीमै इलाका प्रशासन कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय स्थापना गर्ने निर्णय अन्तिम चरणमा पुगेको छ।
इलाका प्रशासनमा ६ जना, नापीमा ८ जना र मालपोत कार्यालयमा १० जनाको दरबन्दी स्वीकृत भइसकेको छ। अब उद्घाटनपछि नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ । शिक्षा क्षेत्रमा पनि ठोस उपलब्धि हात लागेको छ। अर्थ मन्त्रालयबाट जनप्रकाश माध्यमिक विद्यालय तथा देवडाँडा माध्यमिक विद्यालय (कुरु) मा भवन निर्माणका लागि ३ करोड रुपैयाँ बजेट फुकुवा हुन सफल भएको छ, जसले दुर्गम क्षेत्रका विद्यार्थीलाई सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण प्रदान गर्ने जनाएकोए छ। सेवा प्रवाहलाई अझ सहज बनाउँदै अब कोल्टीबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन इन्ट्री गर्न मिल्ने डिभाइस प्राप्त भएको छ। यसले नागरिकलाई समय र खर्च दुवै बचत गर्नेछ।
पूर्वाधार विकासतर्फ नगर विकास कोषको सहयोगमा कोल्टीमा सपिङ कम्प्लेक्स निर्माणका लागि अन्तिम DPR सहित सबै प्रक्रिया पूरा भएको छ। साथै एन्टी फाइवर इन्टरनेट विस्तार प्रक्रिया अघि बढिसकेको छ । जसले डिजिटल पहुँच र सूचना प्रवाहलाई मजबुत बनाउने भएकोछ।
अन्तर्राष्ट्रिय सहकार्यतर्फ पनि प्रगति भएको छ। भारतीय दूतावाससँग जनप्रकाश माविको भवन लगायत विषयमा छलफल भई बजेट निकासा भएको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले मौलिक भान्साघरसँग सम्झौता गरी बुढीनन्दाका रैथाने उत्पादन अब काठमाडौं बानेश्वरबाट निरन्तर बिक्री तथा प्रवर्द्धन गरिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
यी सबै उपलब्धिका लागि नगर प्रमुख बोहराले बुढीनन्दा नगरपालिका तथा कुन्ना क्षेत्रका जनतामा हार्दिक बधाई व्यक्त गरेका छन् । दुर्गम भूगोलका समस्या राजधानीसम्म पुर्याएर समाधान निकाल्ने यो परिणाममुखी दौडधुपले बुढीनन्दा नगरपालिका संग जिल्लाको उत्तरी भेगको बिकास, सेवा र आशाको नयाँ अध्याय सुरु भएको स्थानीयवासीको विश्वास छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहीबार