२४ बैशाख २०८३, बिहीबार

जगन्नाथ पालिका स्थरिय रनिङ शिल्ड हिजाेदेखी सुरु


बाजुरा : जगन्नाथ गाउँपालिकामा पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिका केन्द्र जुड्डिमा सुरु भएको प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका ३ सयभन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अध्यक्ष शाहीले औपचारिक रूपमा प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहको लगानी अपरिहार्य रहेको बताएका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले जगन्नाथ गाउँपालिकाभित्र खेलकुद संरचनाको विकास क्रमिक रूपमा सुधार हुँदै गएको र खेलाडी उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण तथा आर्थिक लगानी पनि बढाइएको जानकारी दिए । उनले विद्यालय तहबाटै अनुशासित, सभ्य र प्रतिस्पर्धात्मक खेल संस्कृति विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थी खेलाडीहरूलाई देशकै नाम राख्ने गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न आग्रह गरे ।

खेल राष्ट्रकै गौरवसँग जोडिएको विषय भएको बताउँदै अध्यक्ष शाहीले विद्यालयस्तरबाटै दक्ष खेलाडी उत्पादनलाई गाउँपालिकाको प्रमुख एजेण्डाका रूपमा अघि बढाइएको र यसले सकारात्मक परिणाम दिन थालेको धारणा राखे । “राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका लुकेका प्रतिभा उजागर गर्न ठूलो भूमिका खेलिरहेका छन्,” उनले भने ।

गौरी सार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पालिका शिक्षा शाखा प्रमुख धुर्वबहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन लक्ष्मण जोशीले गरेका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

जिल्ला खेलकुद विकास कार्यालयका अनुसार माघ महिनाभित्रै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्ने तयारी गरिएको छ । सोही अनुसार माघको पहिलो हप्ता भित्र पालिका स्तरीय प्रतियोगिता सकाउन सबै पालिकालाई परिपत्र गरिएको जनाइएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये अधिकांशले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरिसकेका छन् भने केही मात्र बाँकी रहेका छन् ।

पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: २६ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives