बाजुरा : सुदूरपश्चिमेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको देउडा गीत “मन नबिग्रने गरी आँखा झिम्काउँदा पनि मनले सोचेको पुग्ने यो कस्तो माया हो” सार्वजनिक गरिएको छ। प्रेम, विश्वास र आत्मीय भावनालाई सरल शब्द र देउडा लयमा प्रस्तुत गरिएको यस गीतले दर्शक–श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।
गीतमा लोक राज सिंह ठकुरी र रोशनी रोकायाको सशक्त स्वर रहेको छ। देउडा क्षेत्रका अनुभवी गायक लोक राज सिंह ठकुरीको आवाज र रोशनी रोकायाको मधुर गायनले गीतलाई अझ भावुक र जीवन्त बनाएको छ। गीतका शब्दले सुदूरपश्चिमेली समाजमा रहेको प्रेमको शुद्धता र मनको सम्बन्धलाई कलात्मक ढंगले उजागर गरेको छ।
यस गीतको संगीत संयोजन दुर दर्पन लाइभ स्टुडीयाेको टिमले गरेको हो। स्टुडियो पक्षले सुदूरपश्चिमको मौलिक लोकधुन जोगाउँदै आधुनिक प्रविधिसँग संयोजन गरेर गीत तयार गरिएको जनाएको छ। गीत निर्माण टिमका अनुसार देउडा संगीतको मौलिकता जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यो सिर्जना गरिएको हो।
सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाइरहेको छ। देउडा प्रेमीहरूका लागि यो गीत मन छुने सिर्जना बन्ने विश्वास गरिएको छ। कलाकार तथा निर्माण टिमले आगामी दिनमा पनि यस्तै मौलिक र सांस्कृतिक पहिचान बोकेका गीतहरू प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार