७ असार २०८३, आईतवार

बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय


बाजुरा– सरकारले बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद्को बैठकले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारले दुर्गम तथा सेवाबाट टाढा रहेका क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । बाजुराका पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिका गरी चार वटा स्थानीय तहका नागरिकहरुले हाल नागरिकता लगायतका कामका सदरमुकाम मार्तडी पुग्नु पर्ने बाध्यता रहेको छ । त्याँहाका नागरिकहरुले नागरिकता बनाउन मार्तडी पुग्नै १५–२० हजार रुपैयाँ खर्च तथा करिब चार दिन समय लगाउनु पर्ने बाध्यता रहेको छ । मार्तडी–कोल्टी सडकमा यातायात सेवा सहज नहुनु, सर्वाधिक विकट गुम्बा, बिच्छ्या जस्ता दुर्गम गाउँ हालसम्म पनि सहज यातायातको पहुँचमा नहुँदा थप समस्या भोग्नु पर्ने बाध्यता छ । यस्तै सदरमुकामबाट पूर्वी उत्तरी भेग जोड्ने लाइफ लाइन मार्तडी–कोल्टी सडकखण्ड हरेक बर्ष बर्षातमा चार महिना पूर्ण रुपमा अवरुद्ध हुने गरेको छ ।
वर्तमान सरकारले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेसँगै अब त्याँहा नागरिकहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र लागयतका कामकाजका लागि मार्तडी पुग्नु पर्ने बाध्यता हट्ने भएको छ । त्याँहा इलाका प्रशासन कार्यालय स्थापना गर्न लामो समयसम्म याँहाका जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला सहितको पहल कदमीपछि उक्त प्रक्रिया कांग्रेस–एमाले नेतृत्वको सरकारले नै अगाडि बढाएको थियो । गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएर समितिले कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको थियो भने हाल सरकारले नै निर्णय गरेसँगै अब इलाका प्रशासन कार्यालय स्थापना हुने निश्चित जस्तै भएको छ ।
त्यसैगरी, सरकारले मन्त्रिपरिषद् बैठकबाट बाजुरा सहित विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । जसमा ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको बीपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको, मेलौली र संखुवासभाको हिदानागढीमा स्थापना गरिने भएको छ ।


प्रकाशित मिति: १२ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives