बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गुदुखातीमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिएका छन् । २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजना तथा खप्तड छेडेदह गाउँपालिकाको सह–आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
बिहीवार वडा नम्बर ४ स्थित गुदुखाती स्वास्थ्य चौकीमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ४ सय बढी जनाले सेवा लिएको वडा अध्यक्ष दल बहादुर रावतले बताएका छन् । उनका अनुसार शिविरमा सोही पालिका घर भएका सशस्त्र प्रहरी निरीक्षक डाक्टर चेत बहादुर धामी लगायत डाक्टरहरुले सेवाग्राहीहरुको स्वास्थ्य चेकजाँच तथा उपचार गरेका हुन् । त्यस्तै, शिविरमा स्त्री रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, फिजिसियन रोग लगायत स्वास्थ्य समस्या भएका नागरिकहरुको उपचार गरिएको जनाएको छ ।
निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले सशस्त्र प्रहरी दिवसको अवसरमा दुर्गमका नागरिकहरुको चेकजाँच तथा उपचारका लागि एक दिने निःशुल्क शिविर आयोजना गरेको भन्दै आयोजक तथा डाक्टरहरुको टिमलाई धन्यवाद दिएका छन् ।
त्यस्तै, शिविरमा गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, उपाध्यक्ष विशुदेवि नाथ, वडा अध्यक्ष दल बहादुर रावत, सशस्त्र प्रहरी निरीक्षक डाक्टर चेत बहादुर धामी लगायत डाक्टरहरुको टोली सहितको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: १२ पुष २०८२, शनिबार