८ माघ २०८२, बिहीबार

बाजुरामा शैक्षिक क्षेत्रका समस्या समाधानका लागि प्रदेश स्तरीय अन्तर संवाद कार्यशाला


बाजुरा—बाजुरामा शैक्षिक क्षेत्रमा देखा परेका समस्या समाधानका लागि प्रदेश स्तरीय नीति निर्माण सम्बन्धी एक दिने अन्तर संवाद कार्यशाला सम्पन्न भएको छ । मानव संशाधन केन्द्र (एचआरसी) को आयोजना तथा सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय, बडीमालिका नगरपालिका, गौमुल र खप्तड छेडेदह गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लामा शैक्षिक क्षेत्रमा देखिएका प्रमुख समस्या र समाधानका लागि नीति निर्माण सम्बन्धी स्थानीय तह तथा प्रदेशका जनप्रतिनिधि, कर्मचारीहरुसँग प्रदेश स्तरीय अन्तर संवाद कार्यशाला कार्यक्रम आयोजना गरिएको एचआरसी बाजुराका अध्यक्ष निर शाहीले बताएका छन् ।
एचआरसी बाजुराद्धारा सञ्चालित बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना खप्तड छेडेदह र गौमुल गाउँपालिकामा लागू भएर विद्यालय स्तरमा शिक्षा सम्बन्धी विभिन्न गतिविधि गरिरहेको जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले बर्तमान डिजिटल प्रविधिको समयमा पनि पुरानै ०२८ सालको शिक्षा ऐनमा रहेर काम गर्नु पर्ने बाध्यता हुँदा नीति निर्माण लगायतका काम गर्न थुप्रै समस्या हुने गरेको बताएका छन् । उनीहरुले केही कानुनी अलझेल हुँदा पनि स्थानीय तहरुले आफ्नो अधिकारको प्रयोग तथा स्रोत साधनले धान्न सक्नेसम्म शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेको बताए । त्यस्तै समग्र जिल्लाको शिक्षा क्षेत्रलाई माथि उकास्न तथा गुणस्तर सुधारका लागि तीनै तहका सरकार तथा सरोकारवालाहरु एकवद्ध भएर लाग्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

त्यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओलीले संविधानमा व्यवस्था गरिएका साझा अधिकारले शिक्षा लगायतका क्षेत्रका काम गर्न तथा संघीयतामै असर परेको बताए । उनले तीन तहका साझा अधिकारको सूची हटाउनु पर्ने भन्दै प्रष्ट रुपमा एकल अधिकार हुँदा आफ्नो ऐन कानुन बनाउन तथा कार्य सम्पादन गर्न सहज हुने तर्क गरे । त्यस्तै सांसद ओलीले साझा अधिकारमा शिक्षा राख्दा यसले प्रदेश तथा स्थानीय तहको स्पष्ट क्षेत्राधिकार नहुँदा नीति तथा कार्यक्रम बनाउँदा अन्योलको अवस्था सिर्जना भइरहेको बताए ।

त्यस्तै बाजुरा जिल्लाबाट निर्वाचित प्रदेश सांसद तथा पूर्व आर्थिक मामिला मन्त्री नरेश शाहीले आफू निर्वाचित भएदेखि नै जिल्लाको शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको भन्दै पछिल्लो समय शिक्षा अधिकार छुट्टा छुट्टै दिँदा विश्वव्यापीकरण तथा डिजिटल अनुसार तालिम दिने अभ्यास कमजोर हुदैँ गएको बताए । उनले सुरुदेखि नै जेष्ठ नागरिक डिजिटल शिक्षा सञ्चालन गर्न लागे पनि नसकेको भन्दै अहिले बल्ल त्यसको कोर्स निर्माणका लागि बजेट विनियोजन भएको बताए ।

मानव संशाधन विकास केन्द्रका अध्यक्ष निर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नरेश कुमार शाही रहेका थिए । त्यस्तै कार्यक्रममा प्रदेश सांसद पदम बहादुर शाही, शिवसिंह ओली, शिक्षा विकास निर्देशनालयका उपसचिव गोपालदत्त जोशी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावत, गौमुलकी उपाध्यक्ष सिता थापा, दुई वटै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, कर्मचारी लगायतको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: ११ पुष २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?