बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा बाल कचहरी कार्यक्रम गरिएको छ । “बाल अधिकार बाल संरक्षण, बालविवाह, बालश्रम, शोषण विरुद्ध” पीसविनको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र बुढीगगा नगरपालिकाको समन्वयमा बाल कचहरी कार्यक्रम भएकाे हो ।
बाल कचहरीमार्फत बालबालिकाहरुका हक अधिकार सुनिश्चित तथा उनीहरुका समस्या र गुनासो बुझ्दै समाधान खोज्ने उदेश्यका साथ साे कार्यक्रम गरिएको पीसविनद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अधिकृत भानसिंह ऐडीले बताए । उनले गाउँपालिकामा बालबालिका सम्बन्धी बनेका नीति र बाल केन्द्रित बजेटको अवस्था, हक अधिकार तथा बालबालिकाले घरदेखि विद्यालयसम्म भोगेका समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता सहित बाल कचहरी कार्यक्रम समापन भएको जानकारी दिए ।
बाल कचहरी कार्यक्रममा सहभागी बाल सञ्जालमा आबद्ध बालबालिकाले आफूले दैनिक रुपमा भोगेका समस्या, गुनासा, हक अधिकार, बालविवाह जस्ता कुसंस्कार न्यूनीकरण, नीतिगत निर्णय, बालमैत्री विद्यालय वातावरण, निःशुल्क तथा गुणस्तरीय शिक्षाको सहज उपलब्धता र गुणस्तरीयता, फरक क्षमता भएका तथा पिछडिएका बालबालिका लक्षित थप कार्यक्रम सञ्चालन, लागू पदार्थ दुर्व्यसनी तथा सामाजिक सञ्जालको दुरुपयोग रोकथाम, बाल सहभागीता लगायतका विषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई खुला प्रश्न तथा जिज्ञासा राखेका थिए ।
बालबालिकाका सवाल, समस्या, समुदायमा रहेका सामाजिक कुसंस्कार विरुद्ध गरेका गतिविधि तथा भावि योजना सहित छलफल र सवाल जवाफ गर्न बाल कचहरी गरिएको थियाे ।
कार्यक्रममा बोल्दै बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बाल अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताए। उनले भने, “बालविवाह, बालश्रम र हिंसाजस्ता विकृतिहरू अन्त्य गर्न नगरपालिकाले नीति, कार्यक्रम र बजेटमार्फत निरन्तर काम गरिरहेको छ। प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानित र गुणस्तरीय शिक्षा पाउने वातावरण सिर्जना गर्न हामी प्रतिबद्ध छौं।”
त्यस्तै उप–प्रमुख माया कुवर खड्काले बाल संरक्षण बिना समृद्ध समाज सम्भव नहुने उल्लेख गरेकी छन। उनले भनिन, “बालबालिकामाथि हुने हिंसा, शोषण र उपेक्षाविरुद्ध नगरपालिकाले शून्य सहनशीलताको नीति अपनाएको छ। अभिभावक, विद्यालय र समुदायको सहकार्यमा बालमैत्री स्थानीय शासन निर्माण गर्न हामी दृढ छौं।”
बाल कचहरी कार्यक्रममा बालबालिकाका सवाल, समस्या, हक अधिकार, ऐन कानुनमा भएका नीतिगत व्यवस्था लगायतका विषयमा पत्रकार लक्ष्मीराज पाध्यालयले सहजीकरण गरेका थिए । नगरपालिका उप प्रमुख माया खड्का कुवरकाे अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी साेही नगरपालिकाका नगर प्रमुख राम बहादुर बानिया रहेका थिए । कार्यक्रममा पालिका तथा वडा स्तरीय बाल सञ्जालका पदाधिकारी लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सचालन पीसविनद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अधिकृत भानसिंह ऐडीले गरेका थिए ।
प्रकाशित मिति: १० पुष २०८२, बिहीबार