बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बाल कचहरी कार्यक्रम गरिएको छ । “बाल अधिकार बाल संरक्षण, बालविवाह, बालश्रम, शोषण विरुद्ध” पीसविनको आयोजना, गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा बाल कचहरी कार्यक्रम गरिएको हो ।
बाल कचहरीमार्फत बालबालिकाहरुका हक अधिकार सुनिश्चित तथा उनीहरुका समस्या र गुनासो बुझ्दै समाधान खोज्ने उदेश्यका साथ कार्यक्रम गरिएको पीसविनद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजना अधिकृत भानसिंह ऐडीले बताए । उनले गाउँपालिकामा बालबालिका सम्बन्धी बनेका नीति र बाल केन्द्रित बजेटको अवस्था, हक अधिकार तथा बालबालिकाले घरदेखि विद्यालयसम्म भोगेका समस्या सुनेर समाधान गर्ने प्रतिबद्धता सहित बाल कचहरी कार्यक्रम समापन भएको जानकारी दिए ।
बाल कचहरी कार्यक्रममा सहभागी बाल सञ्जालमा आबद्ध बालबालिकाले आफूले दैनिक रुपमा भोगेका समस्या, गुनासा, हक अधिकार, बालविवाह जस्ता कुसंस्कार न्यूनीकरण, नीतिगत निर्णय, बालमैत्री विद्यालय वातावरण, निःशुल्क तथा गुणस्तरीय शिक्षा, सेनेटरी प्याडको सहज उपलब्धता र गुणस्तरीयता, फरक क्षमता भएका तथा पिछडिएका बालबालिका लक्षित थप कार्यक्रम सञ्चालन, लागू पदार्थ दुर्व्यसनी तथा सामाजिक सञ्जालको दुरुपयोग रोकथाम, बाल सहभागीता लगायतका विषयमा जनप्रतिनिधि र कर्मचारीहरुलाई खुला प्रश्न तथा जिज्ञासा राखेका थिए ।
बालबालिकाका सवाल, समस्या, समुदायमा रहेका सामाजिक कुसंस्कार विरुद्ध गरेका गतिविधि तथा भावि योजना सहित छलफल र सवाल जवाफ गर्न बाल कचहरी गरिएको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित बाल कचहरीमा बालिका रेजिना खड्काले भनिन्, ‘गाउँपालिकाले बालबालिकाका लागि हरेक बर्ष बजेट छुट्याउँछ तर कहाँ खर्च गर्छ ?’
रेजिनाको प्रश्नको जवाफ दिदैँ प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशीले भने बालबालिकाका लागि पालिका तथा वडामा विनियोजन भएको बजेट जनचेतनामूलक, खेलकुद, सांस्कृतिक कार्यक्रम गरेर खर्च हुने गरेको बताए । उनले सो बजेटसँगै पालिकाले नीति तथा कार्यक्रममार्फत बालबालिकाको क्षेत्रमा थुप्रै क्रियाकलापहरु गर्दै आएकाले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने बताए ।
त्यस्तै बाल कचहरीमा वडा नम्बर ३ बाट आएका किशोर भुवन रावतले बालविवाह न्यूनीकरण गर्न धेरै कार्यक्रम गर्छौ तर झन् भइरहेको भन्दै यस्ता घटनामा कानुनी कारबाही नभएर गाउँमै मिलाउने प्रवृत्ति रहेको बताए ।
जवाफमा गाउँपालिका उपाध्यक्ष विशुदेवि नाथले बालविवाह न्यूनीकरण गर्न बाल सञ्जाल, विभिन्न संघ संस्था, जनप्रतिनिधि सहितको सक्रियतामा वडा हुदैँ पालिकालाई शून्य बालविवाह घोषणा गर्ने गरी अभियान सञ्चालन गरिएको बताइन् । उनले थुप्रै गतिविधिपछि वडा नम्बर २ लाई शून्य बालविवाह वडा घोषणा गरिएको भन्दै यसमा सबै सरोकारवालासँगै बालबालिकाहरुले नै न्यूनीकरणमा सक्रिय हुनु पर्नेमा जोड दिइन् । यस्तै उपाध्यक्ष नाथले बालबालिकाहरुले राखेका अन्य प्रश्नहरुको जवाफ दिदैँ बालबालिकाका समस्या तथा गुनासा सुन्ने र समाधानका लागि सिंगो पालिका प्रतिवद्ध रहेको भन्दै लगत्तै स्थानीय बाल अधिकार कार्यविधि निर्माण गरेर आगामी दिनमा बाल सहभागीताका कार्यक्रमलाई पनि जोड दिइने बताएकी छन् ।
त्यसैगरी, बालक देवराज बुढाले विज्ञान प्रयोगशालाका सामग्री प्रयोग गर्न नपाएको गुनासो गर्दैं माध्यमिक तहसम्म निःशुल्क शिक्षा भन्छन् तर हामी बर्षेनी शुल्क तिरेर पढ्छौ किन होला ?
जवाफमा शिक्षा शाखा प्रमुख प्रेम साउँदले सबै विद्यालयमा विज्ञान प्रयोगशालाका सामग्री दिइएको भन्दै विद्यालयमा कोठा अभावमा प्रयोग नभएको हुन सक्ने बताए । उनले गाउँपालिकाबाट सबै माध्यमिक तहका विद्यालयमा निःशुल्क शिक्षा तथा विद्यार्थीलाई किताबका लागि समेत बजेट उपलब्ध भइरहेकाले शुल्क नलिनु पर्ने र यस बारेमा थप विद्यालयमा बुझ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै बाल कचहरी कार्यक्रममा बालबालिकाका सवाल, समस्या, हक अधिकार, ऐन कानुनमा भएका नीतिगत व्यवस्था लगायतका विषयमा सञ्चारकर्मी टेक बहादुर बुढाले सहजीकरण गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष विशुदेवि नाथको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी, शिक्षा शाखा प्रमुख प्रेम साउँद, महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी जोशी, पीसविनका पदम सुनार, पुष्प सुनार, पत्रकार टेक बहादुर बुढा, पालिका तथा वडा स्तरीय बाल सञ्जालका पदाधिकारी लगायत बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: ९ पुष २०८२, बुधबार