२१ मंसिर २०८२, आईतवार

बहुमुखी प्रतिभाशाली ब्याक्तित्वलाइ नचिन्नु राज्यको कमजोरी


नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बाजुरा, जहाँ शिक्षा र अवसरका Bचुनौतीबीच पनि ज्ञान, संस्कार र कर्मको उज्यालो निरन्तर प्रज्वलित रहँदै आएको छ। यही भूमिबाट उदय हुनुभएको एक व्यक्तित्व — जसले शिक्षा, साहित्य, पत्रकारिता र समाजसेवा जस्ता विविध क्षेत्रमा आफ्नो समर्पित जीवन अर्पण गर्नुभएको छ।

बाल्यकालदेखि नै अध्ययनशील, जिज्ञासु र अनुशासनप्रिय स्वभावका धनी उहाँले प्रारम्भिक शिक्षा बाजुरामै हासिल गर्नुभयो। पछि उच्च अध्ययनको खोजीमा नेपालगन्ज आइपुगि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज र शिक्षा क्याम्पस, सुर्खेतमा अध्ययन पूरा गर्दै शिक्षा तथा कानुन विषयमा स्नातक तहसम्म पुग्नुभयो।

वि.सं. २०३२ सालदेखि गाविस सचिवको रूपमा सार्वजनिक सेवा जीवनको सुरुवात गर्नुभएका उहाँ त्यसपछि पत्रकारिता र फोटोग्राफीको क्षेत्रमा सक्रिय रहनुभयो। समय र समाजको यथार्थलाई शब्द र चित्रमा उतार्ने उहाँको दृष्टिकोणले स्थानीय चेतना जगाउने कार्यमा ठूलो योगदान पुर्‍यायो।

तर उहाँको वास्तविक कर्मक्षेत्र शिक्षा नै बन्यो। झण्डै ४२ वर्षसम्म शिक्षण पेशामा समर्पित रहँदै उहाँले असंख्य विद्यार्थीहरूलाई ज्ञान, अनुशासन र जीवनमूल्यका पाठ पढाउनुभयो। उहाँका विद्यार्थीहरू आज विभिन्न क्षेत्रमा सफल छन्, र हरेकले उहाँलाई जीवनका प्रेरक शिक्षकको रूपमा सम्झिन्छन्।

साथै, उहाँ साहित्यिक सृजनामा पनि समान रूपले सक्रिय रहनुभएको छ। सानै उमेरदेखि कविता, गजल, भजनमाला, कथा र निबन्ध लेखनमा कलम चलाउँदै आउनु भएको उहाँका थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन् भने केही प्रकाशनको क्रममा छन्। उहाँका लेखनहरूमा देश, धर्म, समाज, प्रेम र मानवीय मूल्यहरूको गहिरो बोध झल्किन्छ।

साहित्यका साथै उहाँ सामाजिक सेवा र धार्मिक कार्यमा पनि सक्रिय रहनुहुन्छ। उहाँले समाजमा नैतिकता, सद्भाव र चेतनाको बिउ छर्ने अभियान निरन्तर चलाइरहनुभएको छ। उहाँको जीवनदर्शन स्पष्ट छ “सेवा, सत्कर्म र सृजनशीलता नै जीवनको सार हो।”

यस्ता बहुप्रतिभाशाली, कर्मयोगी र समर्पित व्यक्तित्वहरूलाई राज्यले अझै पर्याप्त मूल्याङ्कन गर्न नसक्नु खेदको कुरा हो। शिक्षा, साहित्य, धर्म र सामाजिक चेतनाका माध्यमबाट निरन्तर समाजलाई उज्यालो दिने यस्तो व्यक्तित्व समाजका लागि जीवित प्रेरणा हुन्।

अब समय आएको छ । राज्य र समाजले यस्ता कर्मयोगीहरूको योगदानको कदर गरुन्। उहाँको सेवा, साधना र सृजनशील यात्राले हामी सबैलाई प्रेरित बनाउनेछ र भावी पुस्ताका लागि उदाहरणीय बाटो देखाउनेछ।


प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार