बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाले ठूलो संख्यामा करार र ज्यालादारीतर्फका कर्मचारीहरूलाई हटाएपछी सात स्वास्थ्यचाैकी बन्द भएका छन्। स्वास्थ्य क्षेत्रका ४६ जना कर्मचारी हटाउने निर्णय सगै सात स्वास्थ्य संस्था बन्द भएका हुन । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अम्कोट, मुसी, ताप्रा, डेल्टा, बाम्का, मोटाबाडा र सेलापाखा गरी सातवटा आधारभूत स्वास्थ्य केन्द्र र जुवापानी सामुदायिक स्वास्थ्य केन्द्र बन्द भएका छन्। बन्द भएका स्वास्थ्य संस्थामा कम्तीमा एक जना अहेव, एक जना अनमी र एक जना कार्यालय सहयोगी कार्यरत थिए।नगरपालिकाको निर्णयबाट एक सय २० जना कर्मचारी हटेका छन्। नगर कार्यपालिकाको निर्णयबाट कार्तिक १ गतेदेखि लागू हुने गरी करार र ज्यालादारीका कर्मचारीको म्याद नथप्ने निर्णय गरिएको थियाे। उक्त निर्णयले स्वास्थ्य क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। स्वास्थ्य क्षेत्रका ४६ जना कर्मचारी हट्दा नगरपालिकाका विभिन्न वडामा सञ्चालित एउटा बर्थिङ सेन्टरसहित सात वटा स्वास्थ्य संस्था बन्द भएका छन्।
सर्वाधिक प्रभावित भएको स्वास्थ्य क्षेत्रमा एक जना मेडिकल अधिकृत, तीन जना पाँचौँ तह, २२ जना चौथो तह र २० जना कार्यालय सहयोगी गरी ४६ जना कर्मचारीहरू हटेका छन्। शिक्षातर्फ एक जना पाँचौँ तह, चार जना चौथो तह र एक जना ईसिडीका गरी ६ जना कर्मचारी हटेका छन्। कृषितर्फ चौथो तहका १० जना, भेटनरीतर्फ १०, इन्जिनियरिङतर्फ सात, महिला तथा बालबालिकातर्फ दुई, प्रशासनतर्फ ३४ र पाँच जना मनोसामाजिक कार्यकर्तालाई नगरपालिकाले हटाउने निर्णय गरेको नगरपालिकाले जनाएकाे छ।
सेलापाखा सामुदायिक स्वास्थ्य केन्द्र बुढीगंगा नगरपालिकाको विकट क्षेत्रमा पर्ने स्वास्थ्य संस्था हो, जहाँ बर्थिङ सेन्टरसमेत सञ्चालनमा थियो।यस्तै, तीन वटा स्वास्थ्य चौकी रहेको बुढीगंगा नगरपालिकामा टाँटे स्वास्थ्य चौकीमा कार्यरत मेडिकल अधिकृत, दुई जना प्रयोगशाला सहायक, एक जना रेडियोग्राफर सहायक, एक जना अनमी, एक जना आँखा सहयोगी, एक जना आयुर्वेद सहायक र दुई जना कार्यालय सहयोगी हट्ने सूचीमा परेका छन्। यस नगरपालिकामा एक जना मात्र मेडिकल अधिकृत थिए। अब डाक्टरविहीन नगरपालिका भएको छ।
त्यसैगरी, ब्रम्ह्रतोला र देवलसैन स्वास्थ्य चौकीमा प्रयोगशाला सहायकसमेत हटेपछि सेवा बन्द भएको छ। ‘दैनिक सरदर ३० जना बिरामी र महिनामा पाँच जना सुत्केरी सेवाका केस हुन्थे,’ बर्थिङ सेन्टरसमेत रहेको सेलापाखा सामुदायिक स्वास्थ्य केन्द्रकी अनमी देविका सिंहले भनिन्, ‘०७२ सालमा स्थापना भएको यो संस्था बन्द भएपछि यस क्षेत्रका बासिन्दाले अब अछामको बयालपाटा पुग्नुपर्ने बाध्यता हुनेछ।’
टाँटे स्वास्थ्य चौकीमा करार सेवामा कार्यरत डा. किरण थापाले भने, ‘यस स्वास्थ्य चौकीमा दैनिक सरदर ४५ जना बिरामी आउने गर्थे। नगरपालिकाको पछिल्लो निर्णयले पहिलाकै पाँच जना स्थायी दरबन्दीका स्वास्थ्यकर्मीले सेवा सञ्चालन गर्नुपर्ने भयो,’ उनले भने, ‘ल्याब र एक्स–रे सेवा पनि बन्द भयो। यो क्षेत्र ०७२ सालअघि जुन तहको स्वास्थ्य सेवाको अवस्था थियो, त्यही अवस्थामा फर्किएको छ।’
नगरपालिकाका अनुसार स्वास्थ्यतर्फ तीन वटा स्वास्थ्य चौकीका गरी १५ जना मात्र स्थायी दरबन्दीका कर्मचारी छन्। वडा कार्यालयहरू पनि कर्मचारीविहीन हुने अवस्था आएको कर्मचारीहरूले बताएका छन्। वडा नम्बर ७ मा सचिव, मनोसामाजिक कार्यकर्ता, एक जना कृषि प्राविधिक, एक जना पशु प्राविधिक, एक प्रशासन सहायक र दुई जना कार्यालय सहयोगी थिए। अब सचिव बाहेक सबै हटेका छन्।
प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलवार