७ असार २०८३, आईतवार

दसैँका लागि सुकिला नोट साट्न बाजुरामा पनि सुरु


बाजुरा: बाजुरामा पनि दसैँका लागि सुकिला नोट साट्न सुरु गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक शाखा लगायतका बैंकहरुले सुकिला नोट साट्न सुरु गरेका हुन् । नेपालीहरुको महान चाड दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट सटही सुरु गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक शाखा मार्तडीका प्रवन्धक बिसन देव जोशीले नजिकिँदै गरेको दसैँलाई लक्षित गरेर जिल्लामा पनि सुकिला नोट सटही सुरु गरिएको बताएका छन् । उनका अनुसार बैंकहरुले प्रतिव्यक्ति ५ रुपैयाँदेखि एक सय रुपैयाँ दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिएको छ ।

शाखा प्रवन्धक जोशीले भने, “यस शाखाबाट नियमित रुपमा अरु समयमा पनि यस्तो सुविधा थियो तर नेपाल राष्ट्र बैंकले विशेष रुपमा दसैँमा सर्वसाधारणलाई सुकिला नोट साट्ने सुविधा दिने हुँदा जिल्लामा पनि सुरु गरेका छौ । राष्ट्रिय वाणिज्य बैंक शाखा मार्तडी सहित अन्य बैंकमा गएर पनि नोट साट्न सकिन्छ ।” त्यस्तै शाखा प्रवन्धक जोशीले कार्यालयमा नयाँ नोटको जसरी भीडभाड नभए पनि दैनिक रुपमा सुकिला नोट साट्न सेवाग्राहीहरु आउने गरेको जानकारी दिए । नयाँ नोट सटहीको बेला बाजुराको शाखाबाट पनि एक छुट्टै काउन्टर नै स्थापना गरेर सेवा दिइने गरेको थियो ।

तर अहिले त्यो सुविधा नभएको र भीडभाड पनि नहुँदा नियमित काउन्टरबाट नै सुकिला नोट साट्ने व्यवस्था गरिएको उनले बताए । त्यस्तै शाखा प्रवन्धक जोशीले राष्ट्रिय वाणिज्य बैंक मार्तडी शाखामा सुकिला नोट पर्याप्त रहेको भन्दै सेवाग्राहीहरुलाई सेवा लिन आग्रह गरेका छन् ।नेपाल राष्ट्र बैंकले यसअघि दसैँका लागि नयाँ नोट सटहीको व्यवस्था गरेको थियो । तर गत बर्षबाट दसैँमा सुकिला नोट साट्ने सुविधा मात्रै गरेको छ ।

बैंकहरुले सुकिला नोट साट्ने सुविधा सुरु गरे पनि सर्वसाधारणहरुमा भने खासै उत्साह देखिएको छैन । सदरमुकाम मार्तडीमा रहेका राष्ट्रिय वाणिज्य बैंक सहितका बैंकहरुमा आंशिक रुपमा मात्रै नागरिकहरु सुकिला नोट साट्नका लागि पुग्ने गरेका छन् । यसअघिका वर्षहरूमा भने सुरुको दिन नै नयाँ नोटका लागि सर्वसाधारणको भिड लाग्ने गरेको थियो । तर अहिले भने सुकिला नोट मात्रै साटही हुँदा बैंकहरुमा त्यति भीडभाड देखिदैन् ।

आइतवार अर्थात भदौ २९ गते बाट सुरु गरेका बैंकहरुले सुकिला नोट सटहीको सुविधा असोज १० गतेसम्म उपलब्ध गराउने भएका छन् ।


प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives