बाजुरा: देशभर बढ्दो भ्रष्टाचार, अस्थिरता र स्वच्छ शासन व्यवस्थाको मागसहित जेनजी युवाहरूले काठमाडौंसहित विभिन्न स्थानमा गरेको आन्दोलनमा राज्यद्वारा गरिएको बल प्रयोगबाट ठूलो जनधनको क्षति भएकोप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्य समिति बाजुराले गहिरो दुःख व्यक्त गरेको छ। सोही आन्दोलनका क्रममा प्रहरीले गरेको बर्बरता, कायरता र रक्तपातपूर्ण दमनका कारण हालसम्म ११ जना विद्यालय अध्यायनरत विद्यार्थीहरू सहित कैयौँ युवाले ज्यान गुमाएका छन् भने ५०० भन्दा बढी घाइते भएका छन्।
नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराले मगलबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति सरकारलाई कडा शब्दमा भर्त्सना गरेको छ। संगठनले स्वतन्त्रता र भ्रष्टाचारविरुद्ध उठेको विद्यार्थी तथा युवाको आन्दोलनलाई दबाउने प्रयास अस्वीकार्य भएको जनाएकाे छ।
जिल्ला समिति बाजुराका अध्यक्ष हंसराज बुढा र सचिव धनबहादुर रावलले हस्ताक्षर गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउने विद्यार्थी तथा युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे छ । मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “रक्तपात र बर्बरतापूर्ण दमनको घटनाप्रति हामी गहिरो दुःख प्रकट गर्दै नेपाल सरकारको कडा शब्दमा निन्दा गर्दछौं।” भनिएकाे छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलवार