बाजुरा: बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल नेतृत्वको टोलीले पहिरोबाट प्रभावित बडीमालिका नगरपालिका ७ स्थित तलगाउँ अनुगमन गरेको छ । बुधवार सिडिओ पौडेलसँगै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, वडा अध्यक्ष धर्मराज पाध्याय, सुरक्षा निकायका प्रमुख सहितको टोलीले पहिरोको उच्च जोखिममा रहेको वस्तीको अनुगमन गरेको हो ।
अनुगमनपछि सिडिओ पौडेलले पहिरोले उक्त गाउँ उच्च जोखिममा रहेको बताएका छन् । उनले भने, “वस्तीका केही घर पहिरोको जोखिममा रहेकाले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा बस्न सुझाव दिएका छौं ।” त्यस्तै, उक्त वस्तीको पहिरो रोकथाम तथा स्थानान्तरणका लागि आफूले गर्न सक्ने आवश्यक पहल गरिने सिडियो पौडेलले बताए ।
त्यस्तै, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले पहिरोको जोखिममा रहेको तलगाउँको स्थानान्तरण र दिर्घकालीन समाधानका लागि आवश्यक पहल गर्ने बताएका छन् । त्यसैगरी, बडीमािलका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले तलगाउँमा गएको पहिरोले गाउँभर त्रास फैलाएको बताएका छन् । उक्त गाउँमा २० घरपरिवार रहेकोमा ८ वटा घर पहिरोको चपेटामा परेको बताए । वडा अध्यक्ष पाध्याले स्थानीयबासीलाई सचेत रहन आग्रह गर्दै तत्काल स्थानान्तरण गर्न सम्बन्धित निकायले छिटो कदम चाल्नुपर्ने समुदायको अपिल रहेको बताएका छन् ।
सरुवा भएर जिल्लामा आएको एक हप्ता नपुग्दै सिडिओ पौडेलले जनप्रतिनिधि, सुरक्षा निकायको सहभागीतामा पहिरो प्रभावित वस्ती तथा मार्तडी–कोल्टी सडकको अनुगमन गरेको जनाएको छ । बर्षातमा लगातारको बर्षासंगै गाउँको मुनितर्फ पहिरो बग्न थालेपछि तलगाउँका स्थानीयहरु रातभर जागराम बस्न बाध्य भएको गुनासो गरेका छन् । उनीहरुले सुरक्षित बसोबास, पहिरो रोकथाम तथा स्थानान्तरण गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् ।
त्यस्तै, उक्त टोलीले तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडकखण्ड तत्काल खुलाउन पहल गर्ने बताएको छ । प्रमुख जिल्ला अधिकारी पाध्याले चाडपर्व नजिकिएसँगै आवतजावत बढेको भन्दै तत्काल सडकखण्ड खुलाउन आवश्यक समन्वय तथा पहल गरिने जानकारी दिएका छन् । उनले सडकखण्डको जिल्ली र रजातोलीमा ठूलो पहिरो रहेकोले पहिरो पन्छाएर अवरुद्ध सडकखण्ड सुचारु गर्न आफूले पनि पहल गर्ने भन्दै सम्बन्धित पालिकाले पनि चासो दिनु पर्ने बताए ।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार