बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउपालकको बिचमा रहेको पादुका त्रिबेणी धाममा दलित महिलालाई पुजामा रोक लगाएको छ । रेडीयो अपि एफएममा कार्यरत संचारकर्मी समेत रहेकी स्वामीकार्तिक खापर गाउपालिका ३ की रमिता बिक सहित चार जना दलित महिलालाई पादुका त्रिबेणी धामका पुजारी मष्टीप्रसाद पाध्यायले मन्दिर प्रबेशमा रोक लागाएको पिडीत बिकले बताएकी छन् ।
बिकका अनुसार आफु सहित चार जना भदौ १० गते बिहान तीजको अवसर पारेर पुजा गर्न पादुका पुगेका थियौ पुजारीले आज मुल पुजा हो दलितले मन्दिर प्रबेश गर्न पाउदैनौ भन्दै रोकेको उनले बताईन । आफुलाई मन्दिर प्रबेश निषेध गरिए पछि कोल्टी इलाका प्रहरी चौकीमा निबेदन दिएको बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले पादुका मन्दिर प्रबेश निषेध गरेको भन्दै निबेदन आएको छ र उक्त निबेदनका आधारमा मन्दिरका पुजारी र निबेदकलाई बोलाएर घटनाबारे प्रहरीले अनुसन्धान थालेको बताएका छन् । नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रता र समान अधिकारको ग्यारेन्टी दिएको छ । संविधानको धारा १८ अनुसार जातीय विभेद नगरी सबै नागरिक समान छन् । धारा २४ मा अछुत प्रथा (छुवाछूत) र जातीय विभेदलाई प्रत्यक्ष रूपमा निषेध गरिएको भनिएको छ ।
जातीय विभेद तथा छुवाछूत (कसूर तथा सजाय) ऐन, २०६८ अनुसार कुनै व्यक्तिलाई जातको आधारमा पूजा, धार्मिक स्थल वा सामाजिक गतिविधिमा सहभागी हुन रोक्नु आपराधिक कृत्य हो र यसका लागि जेल सजाय देखि जरिवानासम्मको प्रावधान छ । स्थानीयवासीले धार्मिक स्थलमा अझै पनि दलित समुदाय माथि हुने विभेदलाई संविधान र कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन भन्दै आलोचना गरेका छन् । उनीहरूको भनाइमा, पादुका त्रिवेणी धामजस्तो साझा धार्मिक स्थल सबैका लागि खुला हुनुपर्नेमा पुजारीले गरेको व्यवहारले दलित समुदायलाई अपमानित बनाएको छ । यसरी बेभेद गर्ने पुजारीलाई कानून सम्मत कार्बाही गरिनुपर्ने बताउदै आएका छन् ।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार