बाजुरा : बाजुराको हिमाली गाउँपालिकाले बिच्छ्याँ र कुवाडीका बाढीपीडितहरूलाई तत्काल पुनर्स्थापना गर्न संघ प्रदेश सरकारलाई अनुरोध गरेको छ। गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाढी पीडितहरूलाई पुनर्स्थापनाका लागि संघ, प्रदेश सरकार तथा विभिन्न निकायसँग अनुरोध गर्ने निर्णय गरेको पालिका अध्यक्ष गोविन्द मल्लले बताए।
अध्यक्ष मल्लका अनुसार बाढीबाट पूर्ण रूपमा क्षति भएका वडा नम्बर १ बिच्छ्याँका ८ र वडा नम्बर ५ कुवाडीका १६ परिवारलाई राहत वितरण गरिएको बताए। पीडितलाई तत्काल केही दिनका लागि राहत पुगोस् भन्ने उद्देश्यले पालिकाबाट त्रिपाल, भाँडाकुँडासहित खाद्यान्न सामग्री वितरण गरेको बताए। सोही बाढीले बिच्छ्याँका आइसिंह बोहरा र भीम बोहराका ७० वटा बाख्रा बगाएर बेपत्ता पारेको बताए।
त्यसैगरी बाढीका कारण बिच्छ्याँमा ९ र कुवाडीमा ३२ गरी ४१ घर उच्च जोखिममा रहेका छन् भने उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नु पर्ने गरी पालिकाले पहल र समन्वय गरी रहेको बताएको छ। बिच्छ्याँ खोलामा आएको बाढीले बिच्छ्याँ र कुवाडीमा ठूलो मात्रामा भौतिक क्षतिसँगै रोपिएको धान खेती बगरमा परिणत गरेको पालिका अध्यक्ष मल्लले जानकारी दिए। मल्लका अनुसार हालसम्म खेतीयोग्य जमिन धेरै बगरमा परिणत भएकोले जग्गाको क्षतिको विवरण आउन समय लाग्ने बताए।
बाढीपहिरोबाट दर्जन बढी सरकारी भवन समेत उच्च जोखिममा छन् भने वडा नम्बर ५ को कुवाडी जलविद्युतमा पूर्ण रूपमा क्षति भएको छ। अध्यक्ष मल्लले मुहानको डेम, पावरहाउस र ५ सय मिटर नहर बगाएको भन्दै अब १२ सय मिटर नहर बनाउनुपर्ने अवस्था भएको बताए। बाढीले जलविद्युत पूर्ण रुपमा क्षति गरेसँगै त्यहाँका १२ सय बढी घरधुरी अँध्यारोमा रहेका छन्।
सोही दिनको बाढीले वडा नम्बर १ को वडा कार्यालय भवन, बिच्छाया माविको खेल मैदान, बिच्छाया स्वास्थ्य चौकी लगायतका सरकारी संरचनामा समेत क्षति पुगेको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बाढीबाट भएको क्षतिको एकिन विवरण आएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर राहत र पुनर्स्थापनाका लागि थप निर्णय गरिने बताए।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार