बाजुरा: राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले बडीमालिका तीर्थ मेलामा स्वयंसेवक परिचालन गर्ने भएको छ । युवा संघ जिल्ला कमिटीले बुधवार एक सूचनामार्फत धार्मिक तथा पर्यटकीय धरोहर बडीमालिका मेलामा स्वयंसेवकको रुपमा सहभागी हुने जनाएको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका संयोजक बिष्न बहादुर कार्कीले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बडीमालिका तीर्थ मेलालाई सफल र व्यवस्थित बनाउन स्वयंसेवकको रुपमा सहभागी हुने बताए । उनका अनुसार स्वयंसेवक परिचालन, व्यवस्थापन तथा आवश्यक समन्वय र जिम्मेवारीबारे छलफलका लागि साउन १८ गते पहिलो बैठक बस्दै छ ।
बैठक सो दिनको दिउँसो १ बजे एमाले जिल्ला कमिटीको पार्टी कार्यालयमा बस्ने भएको छ । त्यस्तै बैठकमा कमिटीमा आस्थावान् सबैलाई अनिवार्य उपस्थिति हुन आग्रह गरिएको छ ।
धार्मिक आस्थाका धरोहर बडीमालिका र बुढीनन्दामा यहीँ साउन २३ गते अर्थात शुक्ल चदुर्दशीका दिन मेला लाग्दैछ ।
देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालिका प्राकृतिक सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । नेपालका ४ धार्मिक धाममध्ये बडीमालिका एक धामका रूपमा परिचित छ ।
बडीमालिका क्षेत्रको धार्मिक मात्र नभई जैविक विविधता, वन्यजन्तु, जडिबुटी तथा वातावरणीय दृष्टिकोणले विषेश महत्व रहेको छ । पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडीमालिकाका धरोहरका रूपमा परिचित छन् ।
प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार