
बाजुरा: बाजुराको सदरमुकाम नजिकैको मार्तडी घट्मुना सडकखण्ड अन्तर्गत बडिमालिका नगरपालिकाको ठुलीसाँघुमा काठेपुल निर्माण गरिएको छ । बर्षातमा नागरिकहरुलाई आवतजावतमा समस्या भएपछि बडीमालिका नगरपालिकाले काठेपुल निर्माण गरेको हो ।
उक्त खोलामा पुल निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएपछि नागरिकहरुले सास्ती खेप्दै आएको थिए । यसअघि उक्त खोलामा रहेको मोटरसाइकल सहित हिड्ने काठेपुल समेत भत्काएपछि आवतजावतमा समस्या हुदैँ आएको छ ।
बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले ठूलो पानी पर्ने बित्तिकै खोलामा पानीको बहाव बढेर आवतजावत नै बन्द हुने भएपछि काठेपुल निर्माण गरिएको बताए । उनका अनुसार पालिकाले नै मोटरसाइकल सहित आवतजावत गर्न सकिने काठेपुल निर्माण गरेको छ ।
त्यस्तै उक्त काठेपुल निर्माणमा केही सहयोग ठेकेदार कम्पनीले पनि गरेको नगरपालिकाले जनाएको छ । उक्त खोलामा काठेपुल निर्माण गरेसँगै नागरिकहरुलाई आवतजावतमा सहजता हुने भएको छ ।
त्यस्तै यसअघि पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहँदा गत माघमा काम सुरु गरेपनि अहिले ठेकदार सर्म्पकविहीन भएको जनाएको छ ।
महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो । तर तिन बर्ष समय सक्दा पनि थोरै काम बाहेक केही काम हुन सकेको छैन् ।
उक्त खोलामा पक्की पुल निर्माण गर्न १६ करोड २१ लाखमा बिकोई बिल्डर्स प्रा.लि.टंगाल काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । उक्त खोलामा ३० मिटर लम्बाई र ११ मिटर चौडाइको उक्त पक्की पुल निर्माण हुने बताइएको छ ।
पुल निर्माण कार्य सुरु गर्न महाकाली पुल योजना महेन्द्रनगरले पटकपटक पत्राचार गरेपछि ठेकेदार सम्पर्कमा आएका थिए । तर एक महिना पनि काम नगरेर अहिले फेरी ठेकेदार सम्पर्कविहीन बनेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण अहिलेसम्म पनि उक्त खोलामा पुल निर्माण हुने कुनै सुरसार समेत देखिदैन ।
उक्त खोलामा पुल नहुँदा वर्षेनी वर्षातको समयमा गौमुल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकहरुले सास्ती खेप्दै आईरहेका छन् ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार