
बाजुरा,२० असार : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । असार १८ गते बसेको मन्त्री स्तरीय बैठकबाट निर्णय गरेर तीन वटा विधा तर्फका स्रष्टाहरुको नाम सार्वजनिक गरेको हो ।
नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दिदै आएको छ । भाषा तथा साहित्य, संस्कृति, र संगीत तथा नाटक विधामा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको हो ।
संगीत तथा नाट्य विधा तर्फ बाजुराबाट दुई जना सम्मानित हुने भएका छन् । तीन दशक देखि सांगीतीक यात्रामा सक्रिय गीतकार तथा कवि राजेन्द्र शाह बिपी र दुई दशक देखि डेउडा गायनको क्षेत्रमा सक्रिय प्रकाश बहादुर थापालाई सम्मान गर्ने निर्णय गरेको छ । तीन विधाका २१ जना प्रादेशीक प्रतिभा पुरस्कार र ३ जना राष्ट्रिय प्रतिभा सम्मान पुरस्कारका लागि छनोट भएका छन् । ती मध्ये २ जना बाजुराकै परेका छन् । यस अघि बाजुराकै डेउडा गायक तथा सर्जक, संगीतकार लालबहादुर थापा पनि सम्मानित भएका थिए ।
भाषा तथा साहित्य विधामा थापा र शाह दुबै जनाले महत्वपूर्ण योगपादन पुर्याएका छन् । दुबै जनाले डेउडा गीतको संगीतिक यात्रामा शब्द र स्वरले एकछत्र राज गर्दै आएका छन् । संगीत तथा नाटक विधामा राष्ट्रिय प्रतिभा पुरस्कारबाट बाजुराको बुढीगंगा नगरपालिका ४ निवासी राजेन्द्र बहादुर शाहलाई प्रदान गर्ने निर्णय गरेको छ । भने सोही विधा तर्फ प्रादेशिक प्रतिभा पुरस्कार बडीमालिका नगरपालिका ८ का प्रकाश बहादुर थापाले पाउने छन् ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार