
बाजुरा: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा न्यूनतम सेवा मापदण्ड निर्धारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । शुक्रवार प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको आयोजनामा कार्यालयका न्यूनतम सेवा मापदण्ड सम्बन्धी कार्यक्रम भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा न्यूनतम सेवा मापदण्ड अनुसारका सेवा प्रवाह, सुशासन तथा भौतिक व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको छ । त्यस्तै कार्यक्रममा सहजीकरण गर्दै प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर दुर्गा प्रसाद ढुङ्गानाले आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा प्रवाहको अवस्था, भावि रणनीति, अनुगमन तथा सुशासन प्रवद्र्धन लगायतका विषयको निर्धारण गर्न न्यूनतम सेवा मापदण्ड कार्यक्रम सुरु गरिएको बताए । उनले गत आर्थिक बर्षबाट प्रादेशिक आयुर्वेद चिकित्सालयमा उक्त कार्यक्रम सुरु भएको र चालू आवबाट जिल्लामा पनि सुरु गरिएको बताए ।
न्यूनतम सेवा निर्धारण मापदण्डमा कार्यालयमा उपचारात्मक गतिविधि, शिविर, औषधि वितरण, स्वास्थ्य चेकजाँच लागयतका विषयलाई आधार बनाएर मूल्यांकन हुने गरेको जनाएको छ । उक्त मापदण्डअनुसार आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरामा सेवा प्रवाह सहित कार्यसम्पादन प्रभावकारी भएपनि आफ्नै व्यवस्थित भवन नहुँदा भौतिक अवस्थाले सेवामा प्रभाव पारिरहेको हुन्छ । त्यस्तै डाक्टर ढुङ्गानाले आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले उक्त मापदण्ड अनुसार मूल्यांकनमा चालू आर्थिक बर्ष २०८१।८२ मा ५७ दशमलव ७७ प्रतिशत अंक प्राप्त गरेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आफ्न भवन नभएको भन्दै जग्गाको लागि सम्बन्धित निकायमा पहल भइरहेको बताए ।
त्यस्तै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले जग्गा नहुँदा आफ्नै व्यवस्थित भवन नहुँदा पनि प्रभावकारी सेवा प्रवाह गरिरहेको भन्दै धन्यवाद दिए । नगर प्रमुख खड्काले आगामी आवबाट कार्यालयका हरेक कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंगबहादुर कार्कीले सबैको साथ सहयोगमा न्यूनतम सेवा मापदण्डमा राम्रो मूल्यांकन भएको भन्दै आगामी दिनमा पनि थप प्रभावकारी बनाउन लाग्ने बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख रंगबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादर खड्का रहेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भानुभक्त उपाध्याय, प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका डाक्टर दुर्गा प्रसाद ढुङ्गाना लगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी शीतल साउँदले गरेका हुन ।
प्रकाशित मिति: २० असार २०८२, शुक्रबार