
सुशिल राेकाया: बडिमालिका नगरपालिकाले नगर क्षेत्रको सुरक्षालाई थप प्रभावकारी बनाउन नगर प्रहरी राख्ने तयारी थालेको छ। नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा नै समाबेश गरेर आगामी आर्थिक बर्ष भित्रै आफ्नै नगर प्रहरी राख्ने तयारी थालेको हो । सार्वजनिक सम्पत्ति संरक्षण, ब्वयस्थापन तथा नगर भित्रका साना आपराधिक गतिविधिमा नियन्त्रण गर्ने र सामुदाय स्तरमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नगर प्रहरी स्थापना गर्न लागेको नगर प्रमुख अमर खड्काले बताएका छन।
नगर प्रहरीको संरचना, कार्य क्षेत्र, तालीम तथा आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि कार्यबिधि बनाईसकेको नगर प्रवक्ता धर्मराज पाध्याले बताएका छन् । कार्य बिधीमा ११ जना जति नगर प्रहरी भर्ना गर्न मिल्ने भए पनि प्रारम्भमा केही सीमित संख्यामा नगर प्रहरी राखिने र क्रमशः आवश्यकता अनुसार संख्या वृद्धि गरिने जनाइएको छ।
नगर प्रहरी भर्ती प्रक्रिया तथा तालिमका विषयमा चाँडै निर्णय लिइई आगामी आर्थिक वर्षदेखि लागू गरिने नगरपालिका नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन्। यस कार्यक्रमले नगरवासीमा सुरक्षाको अनुभूति दिलाउने विश्वास गरिएको उनकाे भनाइ रहेकाे छ।
प्रकाशित मिति: १२ असार २०८२, बिहीबार