१ श्रावण २०८२, बिहीबार

गौमुलद्वारा बाजुरा क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति र लोकसेवा कक्षा सञ्चालन गर्दै


सुशिल रोकाया: गौमुल गाउँपालिकाले उच्च शिक्षा हाँसिल गरिरहेका गौमुल गाउँपालिकाका विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा भविष्यको रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति तथा लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८२/८३ नीति तथा कार्यक्रम अनुसार, आर्थिक अवस्था कमजोर भएका, अध्ययनमा उत्कृष्टता हाँसिल गर्ने र गाउँपालिकासँग सम्बन्धित स्थायी बसोबास भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने भएको हो ।
गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले गौमुलका उच्च शिक्षामा सशक्त रूपमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले छात्रवृत्ति तथा लोकसेवा तयारी कक्षा संचालन गर्न लागिएको बताएका छन ।
लोकसेवा तयारी कक्षामा निजामती सेवा, शिक्षक सेवा, प्रहरी सेवा, स्वास्थ्य सेवा लगायतका विषय समेटिने छन् । कार्यक्रमको पहिलो चरणमा बाजुरा क्याम्पसमा अध्ययनरत गौमुल गाउँपालिका विद्यार्थीहरू समेटिने जनाएको छ । छात्रवृत्ति कार्यक्रम अन्तर्गत वार्षिक रूपमा छनौट भएका विद्यार्थीहरूलाई शैक्षिक शुल्क, किताब–कपी तथा अन्य शैक्षिक सामग्रीका लागि आर्थिक सहायता प्रदान गरिने गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन ।
यो कार्यक्रम गाउँबाट बाहिर गई अध्ययन गरिरहेका युवाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र प्रतियोगी परीक्षामा सफलताका लागि महत्वपूर्ण हुने विश्वास लिइएको उपाध्यक्ष सिता थापाको भनाई रहेको छ । गौमुल गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अवसर र प्रोत्साहन प्रदान गर्दै समावेशी र समान पहुँचको शिक्षालाई टेवा पुर्‍याउने अपेक्षा गरिएको उपाअध्यक्ष थापाले बताएकी छन ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार