
बाजुरा: बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कनेदेखि कोल्टीसम्म सडक निर्माणका लागि समयमै ठेकेदारले काम नगर्दा चालू आर्थिक वर्षका लागि विनियोजन भएको बजेट फ्रिज हुने भएको छ । चालू आर्थिक वर्षमा उक्त सडक कालोपत्रेका लागि १५ करोड विनियोजन भएको थियो । काम गर्ने जिम्मा पाएको पिएस बानिया निर्माण सेवाले करिव डेढ करोडको मात्र काम गरेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले बताए ।
ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता हुने भएको थापाले बताए । आर्थिक वर्ष २०६७/०७७ मा २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ वर्षमा काम सम्पन्न गर्ने रहेको थियो । तीन वर्षमा काम नसकेपछि कार्यालयले एक पटक म्याद थप गरेको थियो ।
म्याद थपिए पनि चालू आर्थिक वर्षमा भने ठेकेदारले काम नगर्दा रकम फिर्ता हुन लागेको पूर्वाधार कार्यालय अछामले जनाएको छ । कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बानिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा वर्षातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको स्थानीय मदन जैशीले बताए ।
पिएस बानिया निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति हुन् । मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुवर्षिय योजनामा रहेको छ । यो सडकको २६ किलोमिटरबाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रेका लागि ५८ करोड विनियोजन भएको थियो । पहिलो मार्तडीदेखि चुथिसम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ ।
चुथिदेखि ढम्कने ६ किलोमिटर कालोपत्रेको काम धेरै बाँकी रहेको छ । समपुरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ । मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर बुढीनन्दा नगरपालिका २ कोल्टीगाँउसम्म पुग्ने रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मार्तडी कोल्टी ४१ किलोमिटर सडक कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबरको तीन खण्डमा टेण्डर भएको हो ।
विगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २७ वर्षसम्म पनि पूरा हुन सकेको छैन । १६ वर्षसम्म ३५ करोड भन्दा बढी खर्च भइसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पूरा नभएको स्थानीयले बताएका छन् । २०५६ फागुन ७ गते तत्कालिन जिल्ला विकास समितिका सभापति लालबहादुर थापाले उक्त सडकको शिलन्यास गरेका थिए । काराेबार दैनिकबाट
प्रकाशित मिति: १० असार २०८२, मंगलवार