
बाजुरा– लागु औष दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस बाजुरामा साताव्यापी रुपमा मनाउनगे निर्णय गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सरोकारवाला निकायहरुको अन्तरक्रिया तथा छलफल कार्यक्रमबाट आजबाट सुरु भएको दिवसलाई साताव्यापी रुपमा मनाउने निर्णय गरिएको हो ।
दिवसलाई स्थानीय तहसंग समन्वय गरी विद्यालय,क्याम्पस, र निजी विद्यालयमा लागु औषधको सचेतना कार्यक्रम संचालन गर्ने र जिल्लाका संचार माध्यमबाट प्रचार प्रसार गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय बाजुरा र स्थानीय तहसंगको समन्वयमा जिल्लास्तरमा लागु औषध दुव्र्यसन मुक्त समाज निर्माणका लागि युवा र समाजको भूमिका विषयक अन्तरक्रिया, वक्तृत्वकला,निवन्ध लेखन कार्यक्रम गर्ने निर्णय भएको बताए ।
यस्तै सरोकारवालासंगको बैठक तथा छलफलले जिल्लाका सीमा नाकाबाट आउने यातायातका साधनहरु लागु औषध ओसार पसारमा हुन सक्ने भएकाले कडा चेकजाँच गर्ने,स्थानीय तहको निती तथा कार्यक्रम एवं बजेटमा लागु औषध मुल प्रवाहीकरण गर्न स्थानीय तहसंग छलफलर समन्वय गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पाध्याको भनाई रहेको छ ।
छलफलमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या,निकायका प्रमुख,कार्यालय प्रमुख, लगायत सहभागी थिए । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले औपचारिक रुपमा शुभारम्भ गरेका थिए ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार