
बाजुराः बुढीगंगा नगरपालिकामा कुमाल जातिले वर्षौँदेखि गर्दै आएको माटोको भाँडा बनाउने पेसा सङ्कटमा पर्न थालेपछि नगरपालिकाले सीप विकास तालिम र प्रविधि मार्फत पेसा जोगाउने अभियान शुरु गरेको छ । परम्परागत रुपमा वर्षौँ पहिला बुढीगंगा नगरपालिका ८ स्थित कुमाल जातिले निर्माण गर्ने माटोका भाँडा पछिल्लो दुई दशक यता लोप हुने अवस्थामा पुगेपछि उक्त पेशा संरक्षण एवम् संवद्र्धन गरि कुमाल जातिलाई व्यावसायिक बनाउने उद्देश्यले सीप विकास तालिम मार्फत पेशा पुनर्जीवित गर्ने प्रयास गरिएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाँले बताए ।
उनका अनुसार नगरपालिकाले पालिका भित्रका २० जना स्थानीयलाई भाडा बनाउने आवश्यक प्रविधि समेतको सहयोगमा एक महिने माटाको भाडा बनाउने तालिम दिइरहेको छ । मेहनत अनुसारको प्रतिफल नपाउँदा गुजारा गर्नै मुस्किल भएपछि पुर्खादेखि गर्दै आएको पेसा पूर्ण रुपमा लोप भएको थियो, पालिकाको सहयोगमा सीप विकास तालिम संचाल पश्चात् पुनः युवा पुस्ता यो पेसा अङ्गाल्न तर्फ उत्प्रेरित भएको स्थानीय लाल बहादुर कुमालले बताए ।
पछिल्लो समय प्लास्टिकका भाँडाकुँडा सस्तो र सजिलो विकल्पका रूपमा बजारमा आएपछि माटोबाट बन्ने भाँडाको माग ह्वात्तै घटेको र परम्परागत माटोका भाँडोलाई समयअनुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा यो पेसा लोप भएको स्थानीय काल्चे कुमालको भनाइ छ ।
सीप विकास तालिम पश्चात् स्थानीयले व्यावसायिक रुपमा माटोका भाँडा उत्पादन गर्ने र उक्त सामग्री नगरपालिकाले खरिद गरेर बजारीकरण गर्ने जिम्मेवारी लिने भएपछि स्थानीय कुमाल जाती उत्साहित भएका छन । माटा बाट गड्या, पानी खाने मट्का, तछला, अम्खोरा,लगायत सामग्री निर्माण गरिने गरिन्छ । माटाको भाँडो प्रयोग मानव स्वास्थ्यका लागि समेत निकै लाभदायक हुने मानिदै आएको छ ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार