
बाजुरा : अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा विषय मार्तडीमा कार्यशाला गोष्ठी सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय बाजुराको आयोजनामा कार्यशाला आयोजना गरिएको कार्यालयका सब इन्जिनियर डम्मर थापाले जानकारी दिएका छन् ।
आधारभुत तहको शिक्षा निशुल्क र अनिवार्य गरिएको भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो बढेसँगै कार्यशाला सञ्चालन गरिएको हो । आधारभुत तहमै कक्षा छोड्ने, दोहोर्याउने, भर्ना नहुने र भर्ना गर्दा पनि शुल्क लिने गुनासो बढेसँगै सरोकारवाला सम्मेलित कार्यशाला आयोजना गरिएको हो ।
राज्यले आधारभुत तहसम्मको शिक्षालाई अनिवार्य र माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क भनेको छ । तर सामुदायिक विद्यालयले नै विभिन्न बाहनामा शुल्क असुली गर्ने गरेको आरोप लाग्ने गरेको छ । बडीमालिका नगरपालिका क्षेत्र भित्रका शिक्षक, विव्यस सहीतको सरोकारवालाको सहभागितामा त्यो विषय बारे छलफल गरिएको हो ।
कार्यालयका सबइन्जिनियर डम्मर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यशालाको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्याय रहेका थिए । प्रजिअ पाध्यायले शिक्षालाई सबैको पहुँचमा पुर्याउनु पर्ने र सबैलाई निशुल्क शिक्षा आर्जनको वातावरण बनाउनु राज्यको दायित्व हुने बताएका छन् । उहाँले विद्यालयमा शुल्क असुली भएमा त्यो संविधान र कानुन विपरित हुने बताएका छन् ।
कार्यशालाको सहजिकरण बडीमालिका नगरपालिका शिक्षा शाखा प्रमुख रंगमल विक, रामबहादुर कटुवाल र सबइन्जिनियर डम्मर थापाले गरेका हुन् । कार्यालयका लालबहादुर विकले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम बडीमालिका नगरपालिकाको सभा हलमा आयोजना गरिएको थियो ।
प्रकाशित मिति: १ असार २०८२, आईतवार