८ असार २०८२, आईतवार

प्रस्तावित बडीमालिका संरक्षण क्षेत्रको सरोकारवालासंग अन्तरक्रिया


बाजुरा: धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको प्रस्तावित बडीमालिका संरक्षण क्षेत्र सम्बन्धी स्थानीय समुदाय र सरोकारवाला निकायसंग छलफल गरिएको छ । बुधबार प्रकृति संरक्षण कोष नेपालको आयोजना र बडीमालिका नगरपालिकाको समन्वयमा बडीमालिका र अछामको रामारोशन वन क्षेत्र संरक्षणका लागि आवश्यक पहल र स्थानीय समुदायको भूमिकाको विषयमा छलफल गरिएको हो ।

पर्यटकीय सम्भावना बोकेको बडीमालिका र रामारोशनलाई संरक्षण गर्न तीनै तहका सरकारको प्रयास,नीतिगत निर्णयका विषयमा छलफल गरिएको प्रकृति संरक्षण प्रमुख लक्ष्मी जोशीले बताएका छन् । उनले बडीमालिका क्षेत्रको भोगाधिकार र वनमा भएका अतिक्रमणहरुको अवस्था र यसलाई पर्यटकीय क्षेत्रका रुपमा लैजाने गरी प्रस्तावित रुपमा छलफल गरिएको बताइन् ।

छलफलमा सहभागीहरुले बडीमालिका क्षेत्रमा सम्भाव्यता विना नै लगाइएका संरचना र यसको नक्सांकन र सिमांकन गर्न आवश्यक रहेको बताएका छन् । बडीमालिका मात्र नभई रानीसैन,खप्तड, बुढीनन्दा, छेडेदह लगायतका क्षेत्रलाई पनि प्रस्तावित रुपमा वन संरक्षणमा लैजानुपर्ने नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेमबहादुर रौलेले सुझाव दिएका छन् ।

No description available.

प्राकृतिक रुपमा दोहन हुँदै आएको क्षेत्रहरु रोक्न र यसको व्यवस्थापनमा स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवाल, नेपाली काँग्रेसका गोपाल कार्की,नेकपा एमालेका हिक्मत थापा अतिथिका रुपमा रहेका थिए । बडीमालिका नगरपालिकाका वडा अध्यक्ष,नगर क्षेत्रमा रहेका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी थिए । प्रकृति संरक्षण कोष नेपालका प्रमुख लक्ष्मी जोशीले सहजीकरण तथा स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कार्यक्रम एसोसियट हरिप्रिया शाहीले गरेकी थिइन् ।


प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार