
बाजुरा: बाजुराका पाँच सय बढी बाढीपहिरो पीडितहरुले करिब ५ बर्षपछि अन्तिम तेस्रो किस्ता सम्मको रकम पाउने भएका छन् । आइतवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २०७७ सालदेखिका मनसुनजन्य विपद्बाट पीडितहरुको अन्तिम किस्तासम्मको रकम भुक्तानी दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष मेघनाथ पाध्याले जिल्लाका ५ सय बढी मनसुनजन्य विपद्बाट प्रभावितहरुको अन्तिम किस्तासम्मको रकम भुक्तानी दिने निर्णय भएको बताएका छन् ।
उनका अनुसार पहिलो किस्ता ६, दोस्रो किस्ता १ सय ७४ र अन्तिम तेस्रो किस्ता पाउने ३ सय २६ लाभग्राहीको तीन वटै तहको रकम ८ करोड ९ लाख ७ हजा ५ सय रुपैयाँ भुक्तानी हुनेछ । प्रमुख जिल्ला अधिकारी पाध्याले सबै पालिकाबाट अनुगमन प्रतिवेदन पत्र तथा आवश्यक प्रक्रिया पुरा गरेर सम्बन्धित लाभग्राहीहरुको खातामा रकम भुक्तानी हुने बताए ।
त्यस्तै बैठकले प्रदेश सरकारको ३० प्रतिशतका दरले हुन आउने सहभागिता रकम ३ करोड ६३ लाख ६७ हजार ५ सय विपद् व्यवस्थापन कोषमा मौज्जाद रहेकाले मनसुनजन्य विपद् प्रभावितहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: १० बैशाख २०८२, मंगलवार