२८ बैशाख २०८२, शनिबार

बडीमालिका ७ का भूमिहीनहरुलाई निस्सा वितरण


बाजुरा: बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ७ का भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोवासीहरुलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । ९ ओटा वडा मध्ये बडीमालिका नगरपालिकाले वडा नम्बर ७ बाट भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै निस्सा वितरणको काम सुरु गरेको हो ।

भुमि समस्या समाधान आयोग बाजुराको समन्वय तथा ७ नम्बर वडा कार्यालयको आयोजनामा भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी गरी ५१ जनालाई निस्सा वितरण गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । उनले अनुसुचि ३ बमोजिम ६ जना भुमिहिन दलित र अनुसुचि ४ बमोजिम निबेदन अनुसार ४४ जना गरि ५१ जनालाई निस्सा वितरण गरिएको बताए ।

नगरपालिकामा ‘निस्सा प्राप्त गर्ने भूमिहीनलाई वडा कार्यालयले ऐलानी तथा पर्ती जग्गा पहिचान गरेर भूमि आयोगलाई जानकारी दिएपछि नापजाँच गरेर लालपुर्जा वितरणको काम सुरु गरिने भुमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले बताए । वडा कार्यालयले जति छिटो काम गर्‍यो उति छिटो भूमिहीनले लालपुर्जा प्राप्त गर्ने समेत उनले बताए । ‘लाभग्राहीलाई निस्सा वितरण गरिसकेपछि वडा कार्यालयले सातदिने दाबी–विरोध सम्बन्धी सूचना जारी गर्नुपर्ने हुन्छ । वडा कार्यालयले जारीको सूचनामा कसैको पनि दाबी–विरोध नगरेको खण्डमा लालपुर्जा वितरणको काम अगाडि बढाइन्छ’ अध्यक्ष रोकायाले भने ।
भूमिहीन सुकुमवासीको हकमा नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा–जमिन नभएको तथा आफ्नो आय आर्जनका स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति वा परिवारलाई जग्गा उपलब्ध गराइने व्यवस्था रहेको अध्यक्ष रोकायाले बताए ।

भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा प्राप्ति वापत राजस्व नलाग्ने, तर अव्यवस्थित बसोवासीलाई आयआर्जन, सम्पत्ति, जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल बसोवासको मूल्यांकन लगायत सम्पूर्ण सुविधालाई ध्यानमा राखेर मापदण्ड निर्धारण गरिएको जनाइएको छ ।

बडीमालिका नगरपालिका ७ को वडा कार्यालयमा एक कार्यक्रमका बिच निस्सा वितरण कार्यक्रम गरिएको हो । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिका कार्यबाहक नगर प्रमुख डवल रोकाया रहेका थिए ।
कार्यक्रमका बिशिष्ठ अतिथिमा बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खड्का र भुमि समस्या समाधान आयोगका अध्यक्ष जनक रोकाया रहेका थिए भने कार्यक्रममा अतिथिको रुपमा वडा सदस्य रहेका थिए । कार्यक्रमको संचालन बडीमालिका नगरपालिकाका कृष्ण खड्काले संचालन गरेका थिए भने कार्यक्रमको स्वागत बडीमालिका नगरपालिका ७ का वडा सदस्य लोकेन्द्र रोकायाले गरेका थिए ।


प्रकाशित मिति: ५ बैशाख २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार