
बाजुरा ः नेकपा (एमाले) बडीमालिका नगर कमिटीले अनुदानको नुन विक्रीलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको ध्यानाकर्षण गराएको छ ।
आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर जिल्लामा नुन लिन पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरेर विक्री वितरण असहज बनाउन भन्दै नगर कमिटीले ध्यानाकर्षण गराएको हो ।
जिल्लामा बसोबास गर्ने सम्पूर्ण नागरिकहरुले समान पहुँच र समान सुविधा उपभोग गर्न पाउनुपर्ने नगर कमिटीको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै सदरमुकाम मार्तडीमा रहेको साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेड र डिपो कार्यालयबाट नुन लिन पनि वडाको सिफारिस अनिवार्य गरेपछि नागरिकलाई परेको समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।
यस्तै एमाले नगर कमिटीले अबदेखि सहज रुपमा नुन वितरण प्रक्रिया गराई नागरिकले राज्यबाट पाउने सेवा सहजै उपभोग हुने व्यवस्था गरिनुपर्ने माग गरेको छ ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी पाध्याले प्रक्रियाले सहज भएका कारण वडामा वडा अध्यक्ष नभए तोकेको व्यक्तिबाट सिफारिस लिने गरी सहज पारिएको बताएका छन् ।
साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय बाजुराले २०८१ कार्तिक देखि अनुदानको नुन कालो बजारी हुने गरेको भन्दै रोक्न वडाको सिफारिस अनविार्य गरेको हो ।
प्रकाशित मिति: २१ माघ २०८१, सोमबार