७ पुष २०८१, आईतवार

बाजुरामा शैक्षिक गुणस्तर सुधारका लागि मावि तहका प्रअसँग अन्तरक्रिया कार्यक्रम


बाजुरा —बाजुरा जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाजुराको आयोजनामा जिल्लाका तीन स्थानमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाईका अनुसार मंसिर ७ गते कोल्टी क्षेत्रका पालिकामा, ९ गते तल्लो भेगमा र आज सदरमुकाम क्षेत्रका पालिकामा रहेका माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

सोमबार सदरमुकाम मार्तडीमा गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्याकहरुसँग शैक्षिक गुणस्तर सुधारका बिषयमा अन्तरक्रिया गरिएको जनाएको छ ।

एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्क बहादुर सिंहले विगतका बर्षहरुमा जिल्लामा एसईई र कक्षा ८ को नतिजा हेर्दा शैक्षिक अवस्था नाजुक रहेको बताएका छन् । विगतको नतिजालाई विश्लेषण गर्दै सबै प्रअहरुले आ-आफ्नो विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि क्रियाकलाप सञ्चालन गर्नुपर्ने प्रमुख सिंहले बताए । त्यस्तै उनले जिल्लामा शिक्षा क्षेत्रमा लगानी अनुसार प्रतिफल नदेखिएको भन्दै विद्यालयमा बर्तमान अवस्थाको जानकारी र भावि असल अभ्यासको थालनी गर्न यस्ता अन्तरक्रिया कार्यक्रमले महत्वपूणर् सहयोग गर्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले पालैपालो आ-आफ्नो विद्यालयको बर्तमान अवस्था, शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए । त्यस्तै दुवै पालिकाका सवै विद्यालयको अवस्था उस्तैउस्तै रहेको र एउटै प्रअले मात्रै शैक्षिक गुणस्तर सुधार गर्न सम्भव नरहेको भन्दै सवैले लाग्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ हर्क बहादुर सिंहको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अथिति जिल्ला शिक्षा समिति अध्यक्ष तथा समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । त्यस्तै बाजुरा क्याम्पस प्रमुख रुपक रौले, बडीमालिका नगरपालिका शिक्षा शाखा प्रमुख रंगमल विक, दुवै पालिकाका विभिन्न विद्यालयका प्रअहरु सहभागी रहेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्राविधिक सहायक टिकाराम जोशीले गरेका थिए ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?