२४ बैशाख २०८३, बिहीबार

खप्तड राष्ट्रिय निकुञ्जमा विद्युत जडान गर्न बाजुरा प्रशासनको पहल


बाजुरा : बाजुरा सहित डोटी, अछाम र बझाङ जिल्लाको सिमाना जोडिएको खप्तड राष्ट्रिय निकुञ्जमा विद्युत जडान गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पहल थालेको छ । धार्मिक तथा पर्यटकिय क्षेत्र खप्तडमा अहिलेसम्म पनि विद्युत सेवा नहुँदा ठूलो समस्या हुने गरेको जानकारी सहित राष्ट्रिय निकुञ्जको पत्रपछि विद्युत जडानका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले पहल थालेको हो ।

खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय बाजुरा र नेपाली सेनाको समरजित गुल्म खप्तड ब्यारेकमा हालसम्म पनि विद्युत सेवा पुग्न सकेको छैन् । खप्तड क्षेत्रमा विद्युत सेवा नहुँदा विभिन्न उदेश्यले खप्तड घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरु र निकुञ्जका कर्मचारीहरुलाई सञ्चार लगायतका विद्युतिय कामकाज गर्न समस्या भइरहेकोले तत्काल विद्युत जडान गर्न सम्बन्धित निकायसँग पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

निकुञ्ज कार्यालय र नेपाली सेनाको समरजित गुल्म खप्तड ब्यारेक बाजुराबाट विद्युतिकरणका लागि आवश्यक पहल गरीदिन हुन भनी अनुरोध आएको हुँदा जडान गरिदिन प्रशासन कार्यालय मार्फत नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेशलाई समेत पत्र पठाएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । उनका अनुसार सर्वसुलभ सेवा प्रवाहका लागि सो क्षेत्रमा विद्युत जडान गरी सञ्चालन गर्न अति आवश्यक देखिएकाले विद्युत जडान गर्न आवश्यक व्यवस्था गरी दिन प्राधिकरण समक्ष अनुरोध गरिएको छ ।

खप्तड क्षेत्रमा जाडोयाममा ६।७ फिटसम्म हिँउ जम्ने र अत्याधिक चिसोले सोलारबाट प्राप्त हुने विद्युत पर्याप्त नहुने र सोलारमा समेत हिँउ जमेर टेलिफोन, सञ्चार, नेट इन्टरनेट सेवा अवरुद्ध हुने गर्दछ । त्यस्तै निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, तीर्थयात्री, पर्यटक र होटल व्यवसायीहरुको जीवन कष्टकर हुने हुँदा तत्काल विद्युत जडान गर्न आवश्यक रहेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ ।


प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives