७ पुष २०८१, आईतवार

दशैं-तिहारमा खाद्यान्न अभाव नहुने


बाजुरा: जिल्लामा विगतका वर्षमा दशैं र तिहारको बेला जिल्लामा खाद्यान्नको अभाव हुदै आएको भएपनि यो वर्ष भने दशैं तिहारमा खाद्यान्न अभाव नहुने भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा मार्तडी र कोल्टी शाखामा माग अनुसारको खाद्यान्न भएकाले खाद्य अभाव नहुने शाखा कार्यालय बाजुराले जनाएको छ ।
कम्पनीले आइतबारबाट सहुलियत छुट मुल्य पसल संचालनमा ल्याएको छ । जिल्लामा खाद्यको माग भए अनुसार चार हजार क्वीन्टल मार्तडी शाखामा खाद्यान्न मौज्दात रहेको छ ।  यस्तै पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी शाखामा पनि दुई हजार तीन सय मौज्दात खाद्य रहेकाले दशैं तिहारमा खाद्यान्नको कमी नहुने शाखा प्रमुख भण्डारीले स्पष्ट पारेका छन् ।  खाद्य अभावका कारण जिल्लामा कतिपय सर्वसाधारणले महंगो चामल किन्ने अवस्था नहुँदा दशैं मनाउन नपाउने जन गुनासो आउने गरेको थियो ।
वर्षायाममा बाटो बन्द हुने र ढुवानी कार्य  समस्या हुने गरेका कारण विगतका वर्षहरुमा खाद्यान्नको चरम  अभाव हुने गरेको थियो । समयमै ठेकेदारले ढुवानी नगर्ने र वर्षायाममा  ढुवानी गर्ने तर बाटो बन्दका कारण  कम्पनीमा चामल नआउने गरेका कारण विगतमा खाद्य अभाव हुने शाखा प्रमुख भण्डारीले मालिका टुडेलाई जानकारी दिएका छन् ।  यो वर्ष ठेकेदारले समयमै खाद्यान्न ढुवानी गरेको र माग अनुसारको खाद्यान्न आएकाले चामल अभाव हुने सम्भावना न्युन रहेको शाखा प्रमुख भण्डारी बताए ।
शाखा मार्तडीमा चार हजार क्वीन्टल मध्ये अरुवा मोटो चामल दुई हजार १०६ क्वीन्टल,अरुवा सोना चामल एक हजार ६८५ क्वीन्टल र जिरा मसिनो चामल दुई सय २५ क्वीन्टल मौज्दातको रहेको प्रमुख भण्डारीको बताएका छन् ।  यस्तै कोल्टी डिपो कार्यालयमा दुई हजार ३००  क्वीन्टल चामल मध्ये अरुवा मोटो चामल एक हजार ९६९ दशमलव ५० क्वीन्टल,सोना मन्सुली २०२ क्वीन्टल र जिरा मसिनो १५१ दशमलव ५० क्वीन्टल चामल मौज्दात रहेको छ ।
मुक्तिकोट,कवाडी अस्थायीमा चामल छैन 
जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट र हिमाली गाउँपालिकाको कवाडीमा भने खाद्यान्न अभाव रहेको छ ।  अस्थायी विक्री केन्द्रका रुपमा रहेका दुबै ठाउँमा दशैं तिहारको बेला खाद्यान्न ढुवानी हुन सकेको छैन ।  हिमाली गाउँपालिकाको कवाडीमा करिव ७ महिनादेखि खाद्यान्न अभाव रहेको छ । अस्थायी विक्री केन्द्रका लागि अहिले टेण्डर भएर ठेकेदारले खाद्यान्न ढुवानीका लागि अनुमति पाएको छ ।
कवाडीमा खाद्यान्न ढुवानी भएपछि उक्त पालिकाको विच्छ्या र रुगिनका स्थानीयहरु लाभान्वित हुने छन् ।  यस्तै स्वामीकार्तिक गाउँपालिका–२ मा पर्ने मुक्तिकोटमा भने तीन महिनादेखि खाद्यान्न अभाव रहेको छ ।  गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखासंगको समन्वयमा जेठ महिनामा खाद्यान्न वितरण गरेको भएपनि उक्त अस्थायी विक्री केन्द्रका लागि टेण्डर प्रक्रिया नहुँदा खाद्य अभाव भएको हो ।
कुपोषणको चपेटामा रहेको मुक्तिकोटमा खाद्य अभावका कारण उनीहरुले दशै तिहार मनाउने समेत नपाउने भएका छन् ।  सहुलियत दररेटमा विक्री हुने खाद्यान्न लिनका लागि एक दिनको पैदल यात्रा गरेर कोल्टी डिपोमा धाउनु पर्ने बाध्यता रहेको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?