बाजुरा: बाजुराको मार्तडी र कोल्टीमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइए पनि पसलबाट चामल मात्रै पाइने भएकाे छ । खाद्य संस्थानका शाखा कार्यालय सदरमुकाम मार्तडी र पूर्वीउत्तरी भेग कोल्टीमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने उदेस्य भए पनि बाजुरामा चामल मात्रै पाइने भएकाे छ । सरकारले सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घिउ, खसीबोका र च्यांग्रालगायत सामग्री बिक्रीमा राखिने जनाएकाे भए पनि बाजुरामा भने चामल बाहेक अन्य चिज नभएकाे पाइएकाे छ ।
सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि सुदूरपश्चिममा भने केहि ढिला गरी सञ्चालन गरिएको छ । जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चामल मात्रै बिक्रीवितरण हुने हुँदा सुपथ मूल्य पसलमा पनि चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिएर बिक्रीवितरण गर्न थालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मार्तडीका प्रमुख उमेश भण्डारीले बताएका छन् । केहि रुपैयाँ सस्तोको नाममा कसैले धेरै खरिद गर्न सक्ने भन्दै प्रतिव्यक्ति एक बोरा मात्रै र खरिद गर्दा सम्बन्धित व्यक्तिको नागरिकता नम्बर वा फोन नम्बर अनिवार्य गरिएको उनले बताए । सुपथ मूल्य पसलमा अन्य खाद्य वस्तु, स्थानीय बाली खरिद गर्न जिल्लाका पालिकाहरुसँग समन्वय भइरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।
हाल मार्तडीमा सोना मोटा, अरुवा मोटा र जिरा मसिनो चामल गरी ४ हजार ५२ क्विन्टल र कोल्टीमा २ हजार ३ सय २३ क्विन्टल मौजाद रहेको छ । सुपथ मुल्य पसल सञ्चालन भएपछि कार्यालयमा अहिले सोना मोटा चामलको प्रतिकिलो ६० रुपैयाँ, अरुवा मोटा ५९ र जिरा मसिनो ८७ रुपैयाँमा बिक्रीवितरण भइरहेको छ ।
सरकारले देशभर एकसाथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि ७ गतेभित्र अनिवार्य सञ्चालन गरिसक्नुपर्ने निर्देशन भएकाले केहि तयारी नपुगेकाले केहि ढिलाई भएको कार्यालयले जनाएको छ । सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने छन् । सरकारले हरेक बर्ष बजार वस्तुहरु अभाव हुन नदिन र नागरिकलाई केहि सहुलियतका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल गर्दै आएको छ । आउँदो कात्तिक १५ गतेसम्म सञ्चालन हुने जनाएकाे छ
प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार