७ पुष २०८१, आईतवार

घरमा कुकुर पाल्दै हुनुहुन्छ ? यी ९ कुरा थाहा पाउनुपर्छ


कोरोना महाव्याधिको समयमा विश्वभर कुकुरको बच्चाको माग अत्यधिक भएको तथ्यांक छ । त्यसबखत मान्छेहरु घरभित्रै बस्नु पर्दा खेल्न र रमाउनका लागि कुकुरको साथ खोजेको पाइन्छ । हार्वर्ड हेल्थमा प्रकाशित एक शोधले भन्छ, ‘कुकुर, बिरालो जस्ता घरपालुवा जनावरले मान्छेलाई एक्लोपन र उदासीबाट मुक्त राख्न सहयोग गर्छ ।’

आज होइन, आदिम युगदेखि मान्छेले कुकुरलाई आफ्नो साथमा राख्दै आएको अनुमान गरिन्छ ।  खासगरी सिकार र सुरक्षाका लागि उनीहरुले कुकुरलाई आफूसँगै राखे । त्यसैले त मिथक र इतिहासमा कुकुरका प्रसंगहरु जोडिन आइपुगे । अहिले कुकुर पाल्ने क्रम व्यापक छ । यसको पछाडि चार कारण देखिन्छन् । एक, आवश्यकता । दुई, प्रेम । तीन, सौख । त्यसबाहेक देखासिकी र लहलहैमा पनि कुकुर पाल्नेको जमात ठूलो छ ।

कुकुर पाल्न रहर गर्नेहरुमध्ये कतिपयले यो प्राणीलाई राम्ररी खानापानी नदिने मात्र होइन, बूढो र रोगी भएपछि सडकमा लगेर छाडिदिने गर्छन् । यसरी बिजोग भएर सडकमा आइपुग्ने कुकुर खान नपाएर वा अरुको कुटपिटबाट मर्छन् ।

त्यसो त कतिपयले घरमा कुकुर पाल्न रहर गरेपनि त्यसलाई कसरी स्याहारसुसार गर्ने भन्ने थाहा हुँदैन । कुन जातको कुकुरको आनीबानी कस्तो हुन्छ भन्ने जानकारी हुँदैन । अन्धाधुन्ध पाल्छन् र स्याहार गर्न नसकेपछि अरुकै जिम्मामा छाडिदिन्छन् । त्यसैले कुकुर पाल्ने योजनामा हुनुहुन्छ भने तपाईंले केही कुरा थाहा पाउनैपर्छ । केही शर्त पालना गर्नैपर्छ । कुकुर पाल्ने वा नपाल्ने ? यी नौ प्रश्नबाट निर्णय गर्न सकिन्छ ।

१. कुकुर किन पाल्दै हुनुहुन्छ ?

घरमा विभिन्न प्रयोजनले कुकुर पालिन्छ । जस्तो- घरको रेखदेख गर्न, सुरक्षा गर्न । कतिले घरमा साथीको रुपमा त कतिले परिवारको रुपमा पाल्ने गर्छन् । तपाईंलाई किन कुकुर चाहिएको हो ? स्पष्ट हुनुहोस् । किनभने कुकुरको जातअनुसार उनीहरुको क्षमता र खुबी फरक हुन्छ ।

२. कुकुरलाई स्याहारसुसार गर्न र रमाउने फुर्सद छ ?

कुकुर मान्छेभन्दा अलग जातको भएपनि भावना करिब उस्तै हुन्छ । कुकुरलाई माया, स्पर्श चाहिन्छ । स्याहारसुसार चाहिन्छ । यदि कुकुर घरमा ल्याएपछि सही समयमा खुवाउन, सरसफाइ गरिदिन, खेल्न र कुनै दुःख-बिमारमा उपचार गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंसँग अतिरिक्त समय र लगाव हुन जरुरी छ ।

३. आफूले खरिद गरेको कुकुर अमानवीय र अवैध ढंगले उत्पादन गरिएको त होइन ?

अहिले व्यावसायिक रुपले कुकुरको बच्चा बिक्री गर्नेहरु जताततै छन् । यी ठाउँबाट अन्धाधुन्ध कुकुरको बच्चा खरिद गर्नुअघि त्यो कहाँ र कसरी उत्पादन गरिएको हो ? विश्वसनीय स्रोतबाट बुझौं । किनभने कुकुरको बच्चा बेच्नका लागि अवैध ढंगले कुकुरलाई खोरमा थुनेर राख्ने गरिन्छ र जीवनभर त्यसबाट बच्चा उत्पादन गरिन्छ ।

यसरी उत्पादन गरिएका कुकुरका बच्चा वंशाणुगत रुपमै कमजोर हुन्छन् । साथै यिनीहरुलाई राम्ररी स्याहारसुसार गर्न र पेटभर दूध चुस्न दिइँदैन । त्यही कारण यिनीहरु पछि गएर रोगी र कमजोर हुन्छन् । त्यसैले सकेसम्म चिनेजानेका आफन्त वा विश्वसनीय व्यक्तिबाट कुकुरको बच्चा खरिद गरौं ।

४. कुकुरको प्रजाति र स्वभावबारे थाहा छ ?   

कुकुर विभिन्न प्रजातिका हुन्छन् । सोही अनुसार उनीहरुको आनीबानीदेखि क्षमतासम्म फरक हुन्छ । कुनै कुकुर सुरक्षा गर्ने प्रवृत्तिको हुन्छ भने कुनै बढी हेलमेल हुने खालको । त्यसैगरी कुकुरको जातअनुसार त्यसलाई कसरी स्याहारसुसार गर्ने ? भन्ने कुरा पनि फरक पर्छ । कुनै कुकुर घरभित्रै खेल्छ भने कतिलाई खुला ठाउँमा खेलाउनु, हिंडाउनुपर्ने हुन्छ ।

५. कुकुरलाई हरक्षण बाँधेर राख्न वा खोरमा थुनेर राख्नुहुन्छ ?  

धेरैले के गर्छन् भने कुकुरलाई एकै ठाउँमा साङ्लाले बाँधेर राख्छन् वा साँघुरो खोरमा थुनेर राख्छन् । मानौं यिनीहरुलाई त्यहाँ यातना दिनका लागि हिरासतमा राखिएको हो । वास्तवमा यो अमानवीय मात्र होइन अपराध पनि हो ।

यिनीहरुलाई कतिपय अवस्थामा नियन्त्रण गर्न बाँध्न सकिन्छ, वा खोरमा थुन्न सकिन्छ । तर सधैंभर त्यसरी राख्ने हो भने कुकुर नपालेकै राम्रो । देखासिकीका लागि यसरी कुकुर पाल्नेहरुले वास्तवमा कुकुरलाई आजीवन दुःख दिएका हुन्छन् ।

६. कुकुरलाई के खुवाउनेके नखुवाउने ?

कति मान्छेले कुकुर पाल्छन् तर पेटभर खान दिंदैनन् । कतिले आफूले छाडेको जुठो खाना वा बासी खानेकुरा दिन्छन् । यदि खाना दिन नसक्ने अवस्था छ भने कुकुर नपाल्नु उत्तम हुन्छ ।

कतिपयले भने कुकुरलाई माया गरेर आफूले जस्तै मसालेदार, चिनीजन्य खानेकुरा दिन्छन् । कतिले बिस्कुट, पाउरोटी दिन्छन् । वास्तवमा यी सबै खानेकुराले कुकुरको स्वास्थ्यमा एकदमै हानि गर्छ । कुकुरलाई नुन, चिनी, तेल नभएको भात, मासु, केही फल, सागपात आदि दिन सकिन्छ । बजारमा पाइने तयारी खानेकुरा पनि कुकुरका लागि त्यति पोषिलो हुँदैन ।

७. कुकुरलाई कति अवधिमा नुहाउने ?

कुकुरलाई कति अवधिमा नुहाइदिने भन्ने कुरामा पनि धेरैमा अलमल देखिन्छ । कुकुरलाई धेरै छोटो अवधिमा नुहाउनु हुँदैन, उसको छाला एकदमै पातलो हुन्छ । नुहाइरहँदा छालामा संक्रमण हुनेदेखि निमोनिया हुनेसम्मको जोखिम हुन्छ । त्यसैले दुई वा तीन महिनाको अन्तरमा नुहाइदिनु उचित हुन्छ । अन्य बेला भने कपाल कोर्ने, मुख, कान, आँखा सफा गरिदिने गर्न सकिन्छ ।

९. कुकुरलाई के सिकाउनेके नसिकाउने ?

कुकुरलाई सानैमा तालिम दिइयो भने धेरैकुरा सहज हुन्छ । उनीहरुलाई दिसा-पिसाब गराउन, जथाभावी खानेकुरामा जुठो नलगाउन, मान्छेले छुँदा वा चलाउदा सहज बस्नका लागि तालिम दिन सकिन्छ । उनीहरुलाई निश्चित ठाउँमा दिसा-पिसाब गर्न सिकाउनुपर्छ, आफ्नो इशारापछि मात्र खानेकुरा खाने बानी बसाल्नुपर्छ । घरमा मान्छेहरु आउँदा भुक्न वा झम्टिन दिनुहुँदैन । सबैसँग घुलमिल हुन सिकाउनुपर्छ । यस्तो सामान्य तालिम घरमै पनि दिन सकिन्छ ।


प्रकाशित मिति: १८ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?