बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकाले गएको आर्थिक वर्षमा ९१ प्रतिशत बजेट खर्च गरेको प्रगति देखाएको छ । पालिकाले आयोजना गरेको वार्षिक प्रगति समीक्षा तथा सम्मान कार्यक्रममा पालिकाले गएको वर्ष चालु तर्फ ९१ र पुजिँगत तर्फ ९० प्रतिशत बढी बजेट खर्च गरेको देखाएको हो ।
पालिकाका कर्मचारी र सीमित सरोकारवालाको सहभागितामा प्रगति समीक्षा आयोजना गरिएको हो । ०८०÷०८१ मा पालिकाले एक सय ३३ वटा आयोजना सञ्चालन गरेको थियो । जसमा दुई लाख भन्दा रकमका ५२ वटा, दुई देखि पाँच लाख सम्मका ६३ वटा, पाँच देखि १० लाख सम्मका १३ वटा र १० देखि ५० लाखसम्मका पाँच वटा आयोजना सञ्चालन समीक्षा कार्यक्रममा जानकारी गराइएको हो ।
कुल ६२ करोड १२ लाख ४८ हजार बजेटमा खर्च ५५ करोड ५१ लाख ३१ हजार जुन कुल बजेटको ८९.३५ प्रतिशत खर्च भएको देखाएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०÷०८१ मा शिक्षा तथा युवा खेलकुदमा बढी खर्च देखाएको छ । र खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी भएको देखाएको छ ।
पालिकाले गएको वर्ष ७ वटा विद्यालयको तह घटुवा गरी शिक्षक दरबन्दी र विद्यालय समायोजन समेत गरेको छ । पालिका भित्रका सबै सामुदायिक विद्यालयमा कक्षा ३, ५, ८ र १० मा अंग्रेजी, गणित, विज्ञान विषयहरूको उपचारात्मक कक्षा सञ्चालन गर्दा शैक्षिक उपलब्धी वृद्धि भएको नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा १५ दिने खेल प्रशिक्षण तालिम सञ्चालन गरेको, एक विद्यालय एक खेलकूद शिक्षक उत्पादन गरिएको, जसका कारण रनिग शिल्डमा बुढीगंगाले १३ वटा पदकहरू जित्न सफल भएको प्रगतीमा राखिएको छ । पालिकामा स्थानीय स्काउट गठन गरिएको समेत प्रगती विवरणमा उल्लेख छ ।
बुढीगंगाले ५ सय ६८ जना बालबालिकालाई शैक्षिक सामाग्री र विद्यालय पोशाक तथा ७७ जनालाई नगद सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् । १९ वटा विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिएको छ । ५ सय जना युवाहरूलाई लागु औषध नियन्त्रणको अभियानहरूमा सहभागि तथा प्रशिक्षण गरिएको बताएको छ ।
प्रकाशित मिति: ३ श्रावण २०८१, बिहीबार