बाजुरा– बाजुराको मार्तडी–कोल्टी सडकअन्तर्गत सदरमुकाम प्रवेश गर्ने मूल बाटो बाउली खोलाको पुल अलपत्र परेको छ । ब्रिज निर्माणको जिम्ममा पाएको ठेकेदार सम्र्पकविहीन बनेपछि निर्माणको काम अलपत्र परेको हो ।
मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत सदरमुकाम मार्तडी जोड्ने आरसिसि ब्रिज निर्माण सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि पाँच प्रतिशत काम हुनसकेको छैन । मार्तडी–कोल्टी सडकको बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाडल खन्नेबाहेक अरू काम भएको छैन । पिल्लर उठाउन बनाइएको फाउन्डेसन (खाल्डो) नै पुरिन थालेको छ ।
निर्माण कम्पनीका ठेकेदारले पेस्कीवापत २४ लाख लगेर एक वर्षदेखि लापत्ता छन् । सडक डिभिजन कार्यालय साँफेबगर अछामका अनुसार पाँच करोड ५८ लाख लागतमा २०७९ फागुन १५ भित्र २५ मिटर लामो मोटरेबल पुल निर्माण सक्न उक्त कम्पनीसँग ०७८ कात्तिक १५ मा सम्झौता गरेको थियो । कम्पनीको तर्फबाट सञ्चालक नरेश ओझाले सम्झौता गरेका थिए ।
सडक डिभिजन साँफेबगरका प्रमुख असन्तोष कर्णका अनुसार सुरुमा कम्पनीको आग्रहमा २०८० असार १२ सम्मका लागि म्याद थप गरिएको थियो । तर, त्यसपछि भने ठेकेदार कम्पनी नै सम्पर्कमा आएको छैन । पुल निर्माणका लागि पटकपटक ताकेता गरिएको भए पनि ठेकेदारले अटेर गर्दै आएको बताएका छन । मोबिलाइजेसन पेश्की भनेर २४ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । काम नभए पछि गत असार म्याद थप गरिएको छ काम भने अझै सुरु भएको छैन ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउन प्रयास गरिएको र सडक डिभिजनमा पटकपटक पत्र नै लेखेर पठाएको बताएका छन् । बाउली खोलाको २५ मिटर लम्बाइ हुने आरसिसि ब्रिज निर्माण गर्न जिल्ला प्रशासन कार्यालयबाट बारम्बार ताकेता गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सदरमुकाम जोड्ने बाउलीको मुख्य पुलको स्थलगत अनुगमन पनि गरिएको छ ।
‘म त्यहीं गएर कन्ट्याक्टरको मान्छे पंकज भट्टलाई भेटेर काम छिटो सुचारु गर्न निर्देशन दिएको छु । पाँच सात दिनमा काम सञ्चालन गरेर असारमा सकाउँछु भन्थे खै के गर्छन्,’ प्रजिअ पौडेलले भने । जिल्लामा ठेक्का स्वीकृत भएका तर काम नगरेका धेरै आयोजनाको छड्के अनुगमन भइरहेको छ । ‘पाँच सातजना ठेकेदार सम्पर्कमा आएका छन् । ठेकेदारलाई खोजी काम गराउँदै छौं,’ प्रजिअ पौडेलले भने ।
यता निर्माण कम्पनीले तीन महिना काम गराएको भए पनि मजदुरले ज्याला पनि पाएका छैनन् । काम गराउने ठेकेदार सम्पर्कविहीन छन् । न त पुल बन्यो न काम गरेको ज्याला पाइयो बडिमालिका नगरपालिका–८ का जयबहादुर अयडीले बताए । दिनको १२ सय रुपैयाँ दिन्छु भनेर खोलाको किनारमा रातदिन नभनी डेढ महिनासम्म काम गरको भए पनि मजदुरले ज्यालासमेत नपाएको गुनासो छ । ‘ज्याला पाउने बेला ठेकेदार भागेर गए । दसैंमा भुक्तानी गर्छु भन्थे आजकाल सम्पर्कविहीन छन् । रोडा–गिट्टी कुटेर जहान परिवारको गुजारा चलाउने हामी मजदुरको ज्याला भुक्तानी गराइदिन सबैलाई आग्रह गरेका छौं,’ मजदुर अयडीले भने ।
त्यसैगरी मार्तडीदेखि गौमुल गाउँपालिकाको घटमुना जोड्ने बाउली खोलामा रहेको पुल पनि अलपत्र अवस्थामा छ । निर्माणको ठेक्का भएको भए पनि निर्माण कम्पनीका कारण अलपत्र अवस्थामा परेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार