७ पुष २०८१, आईतवार

बाजुराका ग्रामिण भेगका नागरिकलाइ नागरिकता बनाउन १२ हजार खर्च


बाजुरा– झट्ट सुन्दा धेरैलाई लाग्न सक्छ नागरिकले एक नागरिकता बनाउन यति खर्च लाग्छ भनेर तर बाजुरामा यो पुर्खौंदेखिको समस्या हो । सरकारले निःशुल्क रुपमा दिने नागरिकता बनाउन यति के खर्च भनेर अचम्मीत हुनु स्वाभाविक हो । स्थानीय सरकार बनेसँगै जनताका काम सहजै हुने ठानिएको थियो । तर बाजुराका दुर्गम गाउँका नागरिकले १२ हजार रुपैयाँ खर्च गरेर नागरिकता बनाउने गरेका छन् ।

हिमाली गाउँपालिकाका नन्दबिर विक भन्छन्, ‘जनप्रतिनिधि आएपछि गाउँमै नागरिकता बन्छ भन्थे, होइन रहेछ ।’ श्रीमतीको नागरिकता बनाउँन सदरमुकाम मार्तडी आउन, जान र बस्न १२ हजार भन्दा बढि खर्च भएको उनले सुनाए । गाउँपालिकाबाट सदरमुकाम आएर नागरिकता बनाउन कम्तीमा १२ हजार खर्च हुने गरेको छ ।

हिमाली गाउँपालिकाबाट नागरिकता बनाउनै २ देखि ३ दिनको समय खर्चिनु पर्ने हुन्छ । एक दिन वडा कार्यालयमा सिफारीस बनाउन दोस्रो दिन सदरमुकाम आउन र तेस्रो दिनमा मात्र नागरिकता बनाउन सकिने त्यहाँका स्थानीयको बाध्यता रहेको गाउँपालिकाकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका बुढिनन्दा नगरपालिका त्रिवेणी नगरपालिका खप्तड छेडेदेह गाउँपालिकाका केही गाउँका बासिन्दा नागरिकता बनाउन १० देखि १२ हजार रुपैयाँसम्म खर्च गरेर सदरमुकाम मार्तडीमा आउन बाध्य भएका छन् ।

बाजुराको पूर्वीउत्तर क्षेत्रका एक नगरपालिका र तीन गाउँपालिकाले करिव २ वर्ष पहिले नगर सभा र गाउँ सभाबाट इलाका प्रशासनका लागि निर्णय गरी पठाउँदा पनि हालसम्म कुनै सुनुवाइ नभएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए । करिव २ वर्ष पहिले ४ वटै स्थानीय तहका प्रमुखले ४ वटै पालिकाको पायक पर्ने स्थान भन्दै पिलुचौर वा कोल्टीमा इलाका प्रशासन कार्यालय राख्ने निर्णय भएको अध्यक्ष मल्लले बताए ।


प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?