बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाभित्रका अधिकांश व्यवसायी करको दायराभन्दा बाहिर रहेका छन् । नगरपालिकामा सञ्चालित व्यवसायीहरुको फर्म, संस्था करमा दर्ता भए नभएको बारे अनुगमन सुरु गरिएपछि उक्त कुरा बाहिर आएको हो । अनुगमनमा अधिकांश व्यवसाय करमा दर्ता नभइ सञ्चालन हुँदै आएको भेटिएको बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले बताए ।
जिल्लाका प्रमुख व्यापारी केन्द्र मार्तडीलगायत बजारमा गरिएको अनुगमनका क्रममा केही व्यवसायीले मात्र नगरपालिकामा व्यवसाय दर्ता गरेको र कर तिर्ने गरेको भेटिएको थियो । बडिमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले नगरमा सञ्चालन भएका व्यवसाय करको दायरामा ल्याउन नगरपालिकाले विशेष अभियानअघि बढाइरहेको बताए । बाजुराको बडिमालिका नगरपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दायरामा ल्याउने भएको छ ।
बडिमालिका नगरपालिकाभित्र सञ्चालन भइरहेका र अव सञ्चालन हुने व्यापारिक व्यावसायिक फर्महरुलाई स्थानीय तहदेखि कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागु गरेको छ । हाल सञ्चालनमा रहेका व्यापार व्यवसाय अब उप्रान्त व्यावसायिक दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिँदै अब गरिने व्यापारिक व्यावसायिक फर्महरुलाई पनि पहिलनै दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने नियम बनाइएको हो ।
हाल सञ्चालित सबै प्रकारका व्यापार व्यवसायीले नगरपालिकामा व्यवसाय कर अनिवार्य तिर्नु पर्ने नगर प्रमुख खड्काले बताए । करको दायरामा आउन र सुरक्षित व्यवसाय गर्न गाउँपालिकाले यो नियम लागु गरेको नगर प्रमुख खड्काले बताए । बडिमालिका नगरपालिका भित्र सञ्चालित जति पनि व्यापार व्यवसाय छन् सबैलाई चालु वर्षको असारभित्र स्थानीय तहमा दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोधसहित निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।
जस अनुसार नगरपालिकाभित्र सञ्चालित होटल, किराना, खुद्रा तथा थोक, फेन्सी, कपडा, बुटिक, व्युटीपार्लरलगायत साना ठूला सबैखाले व्यापार व्यवसाय स्थानीय तहमा दर्ता गरेर स्थायी लेखा नम्बर (पान) लिन भनिएको छ । कर कार्यालयबाट पान नम्वर लिएपछि नगरपालिकामा सूचीकरण गरेर मात्र व्यवसाय सञ्चालन गर्न उनीहरुलाई अनुरोध गरिएको छ ।
बडिमालिका नगरपालिकाले चालु आर्थिक वर्षमा ३ सयबढी व्यवसाय करको दायरामा ल्याइसकेको राजस्व शाखा प्रमुख कृष्ण खड्काले बताए । हालसम्म व्यवसाय करलगायत विभिन्न करबाट ३० लाख बढी राजस्व संकलन गरिएको राजस्व शाखा प्रमुख खड्काले बताएका छन् । चालु आर्थिक बर्षको सुरुदेखि हालसम्म ३० लाख रुपैयाँ राजस्व मात्र संकलन भएको उनको भनाइ छ । जिल्लामा कर तथा व्यवसाय दर्तालगायत अन्य विषयमा बर्षेनि अनुगमन हुने भए पनि कारबाही नहुँदा यहाँका व्यवसाय दर्तामा नआएको स्थानीय वासीले बताएका छन् ।
प्रकाशित मिति: ३२ असार २०८१, सोमबार