७ असार २०८३, आईतवार

युवा विदेशिँदा ४१ सय हेक्टर जमिन बाँझै


बाजुरा– बाजुराको ग्रामीण भेगका खेतीयोग्य जमिन बाँझो देखिन थालेका छन् । युवाको बढ्दो विदेश मोहका कारण ग्रामीण भेगमा खेतीयोग्य जमिन बाँझिन थालेको हो । खेती लगाउने किसानको संख्यासमेत वर्षेनी घट्दै गएको छ । बाजुरा जिल्लामा पनि चार हजार १६४ हेक्टर जमिन बाँझै रहेको तथ्यांक छ ।

नेपालको जनगणना २०७८ अनुसार बाजुराको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या कृषि पेशामा रहेको तथ्यांक भए पनि पछिल्लो समय खेती लगाउनेको संख्या घट्दै गएको पाइएको छ । बढ्दो विदेश पलायन र बसाइँ सराइका कारण खेती लगाउने कृषकको संख्या घट्दै गएको जानकार बताउँछन् ।

जनशक्ति पलायन र बसाइँ सराइलगायत कारण बाँझो जमिन बढ्दै गएको र खेतीयोग्य जमिन बाँझै हुने गरेको खाद्य अधिकारकर्मी मदनराज जैशीले बताए । बाजुरा जिल्लाको कुल क्षेत्रफल दुई हजार १८८ वर्ग किलोमिटर छ । जसअनुसार २८ हजार १३५ हेक्टर जमिनमा १८ दशमलव ७८ प्रतिशत जमिन सिञ्चित जमिन रहेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्यांकमा उल्लेख छ ।

कृषि गणना २०७८ मा कृषक परिवारले सुदूरपश्चिम प्रदेशमा एक लाख ९२ हजार ८८५ हेक्टर जमिनमा कृषि गरिरहेको उल्लेख छ । सोमध्ये एक लाख १६ हजार ५६४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख छ । कुल कृषियोग्य जमिनमध्ये बाजुराको कुल क्षेत्रफलको २८.८८, प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको कृषि गणना प्रतिवेदनमा उल्लेख छ ।

आम्दानी नहुने भएका कारण युवा खेती गर्न छोड्दै विदेश गएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मिनप्रसाद जोशीले बताए । कृषि क्षेत्रमा सम्भावनाको जिल्लाको रूपमा भए पनि कम खेतीयोग्य जमिन, रोजगारीका लागि विदेश पलायन प्राकृतिक प्रकोप, बसाइँसराइ, अनुदानमुखी कृषकका कारण जिल्लाले सोचेजस्तो उत्पादन गर्न नसकेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जोशीको भनाइ छ ।

परम्परागत कृषि प्रणाली बाजुराको चुनौतीको रूपमा रहेको जोशीको भनाइ छ । जनशक्ति पलायन, बसाइँसराइ, कृषिबाट हुने आम्दानीले घर गुजारा नचल्नुलगायत कारणले जमिन बाँझो रहन गएको बताए । २०७९/०८० को तथ्यांकअनुसार बाजुराले २७ हजार ९३९ मेट्रिक टन खाद्यान्न जिल्ला बाहिरबाट ल्याउने गरेको उल्लेख गरिएको छ ।

जिल्लामा २४ हजार ३ सय ३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने भए पनि अपुग हुने २७ हजार ९३९ मेट्रिक टन जिल्ला बाहिरबाट ल्याउने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । नेपाल जनगणना २०७८ अनुसार एक लाख ३८ हजार ५२३ जनसंख्यामध्ये आफ्नो उत्पादनले तीन महिनामात्र खान पुग्ने ४० प्रतिशत जनसंख्या रहेको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।

त्यसैगरी ६ महिना खान पुग्ने २५ प्रतिशत, नौ महिना खान पुग्ने १५ प्रतिशत र १२ महिना खान पुग्ने १० प्रतिशत रहेको जनाएको छ । कुल जनसंख्याको ८० प्रतिशत कृषि पेशामा संलग्न भए पनि अधिकांश मानिस भारत र खाडी मुलुकमा श्रमिकको रूपमा काम गर्ने, स्थानीय श्रम बजारमा श्रम बेचेर प्राप्त हुने आयले जीवन निर्वाह गर्ने गरेका छन् ।


प्रकाशित मिति: ३२ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives