८ पुष २०८१, सोमबार

सुदूरपश्चिममा ५४.२ प्रतिशत खेतमा रोपाइँ सम्पन्न


धनगढी– समयमै वर्षा भएसँगै आइतबारसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले बताएका छन्।
सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ। सिँचाइको भरपर्दो सुविधा पाउन नसकेका धेरै किसान आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गर्छन्। प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।
तीमध्ये कैलालीमा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। त्यस्तै डोटीमा १० हजार ६ सय ७०, डडेलधुरामा ६ हजार एक सय ३६, अछाममा १६ हजार पाँच सय ८०, बाजुरामा तीन हजार तीन सय १०, दार्चुलामा चार हजार चार सय ८०, बैतडीमा ९ हजार र बझाङमा सात हजार एक सय १० हेक्टरमा वर्खे धान खेती हुने गरेको तथ्याङ्क कृषि निर्देशनालयसँग छ।

कैलाली र कञ्चनपुर जिल्लाको केही हेक्टर क्षेत्रफलको जग्गामा चैत महिनामा रोपाइँ गरेर ‘चैते धान खेती’ पनि गर्ने गरिन्छ। प्रदेशमा ७३ हजार ६ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकोमा ३६ हजार चार सय ८३ हेक्टर जग्गामा आंशिक सिँचाइको सुविधा रहेको तथ्याङ्क छ। धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ।

नेपाली समाजमा धानको महत्व सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक क्रियाकलापसँग समेत जोडिएकाले यसको उत्पादन र उत्पादकत्व वृद्धिमा सबैको सक्दो सहयोग आवश्यक छ। पहाडी क्षेत्रका जिल्लामा जेठ १५ देखि असार १५ गतेसम्म र तराईका जिल्लामा असार १ देखि १५ गतेसम्मको समयलाई रोपाइँका लागि उपयुक्त मानिन्छ। ढिलो गरी रोपाइँ गरिएको खेतको बालीमा रोग किराको समस्या देखा पर्नसक्ने कृषि प्राविधिकको भनाइ छ।


प्रकाशित मिति: २६ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?