काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ ।
२०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । उक्त अवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
सशस्त्र प्रहरीले चैत र वैशाख महिनामा विशेष सूचनाको आधारमा अवैध ओसार पसारमा संलग्न १७ वटा ठुला र १५ वटा साना गरी ३२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग कार्यालयहरूमा पठाएको छ । सोही अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयहरूसँगको समन्वयमा संयुक्त रूपमा ९२ वटा ठुला र ५५ वटा साना गरी एक सय ४७ वटा सवारी साधन नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग/कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले चैत महिनामा १२ करोड ७२ लाख एक हजार दुई सय १२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको (अवैध रूपमा आयात निर्यात भएको र बिल बिजक नभएको) सामान जफत गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा दाखिला गरेको छ । चैतमा ११ करोड १८ लाख ३० हजार दुई सय ६१ रुपैयाँ र वैशाखमा १३ करोड ८१ लाख ८९ हजार नौ सय ३१ रुपैयाँ गरी २५ करोड २० हजार एक सय ९२ बराबरको दाखिला गरेको छ ।
वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा बुझाइएको सामानको दाखिला मूल्य २७ करोड ३२ लाख २५ हजार तीन सय रहेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ९.२८ प्रतिशतले बढी हो । चैत महिनाको तुलनामा वैशाख महिनामा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा दाखिला गरिएको सामानको मूल्य १४.७९ प्रतिशत बढी हो ।
चैत र वैशाखमा ३४ करोड २० लाख ४ हजार ३५ रुपैयाँ बराबरको सामान भन्सार/राजस्व अनुसन्धान कार्यालयमा सशस्त्र प्रहरीले दाखिला गरेको छ । यो रकम गत वर्षको सोही अवधि ९२५ करोड २० हजार एस सय ९२०को तुलनामा ३६।७९ प्रतिशतले बढी हो ।
चैत महिनामा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ भने वैशाख महिनामा कूल ५२ करोड ९७ लाख ७ हजार दुई सय ५३ रुपैयाँ बराबरको गरी उक्त अवधिमा कुल ९३ करोड ६३ लाख १७ हजार तीन सय २६ रुपैयाँ बराबरको राजस्व रकम दाखिला भएको छ । अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायताबाट राजस्व सङ्कलन भएको हो ।
प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहीबार