११ पुष २०८१, बिहीबार

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन


काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताएकी छिन । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिएकि छन् ।

आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ नागरिक, अपाङ्गताका क्षेत्रमा स्थानीय तहसम्मै पुग्नेगरी कार्यक्रम तयार गर्न निर्देशन दिएकि हुन् ।

मन्त्रालयमा आयोजित प्रि बजेट छलफलमा बोल्दै चौधरीले मन्त्रालयका सबै शाखा प्रमुखलाई बोलाएर जनताको घरदैलोमा पुग्ने बजेट तयार पार्नुपर्ने बताएकी हुन्। ‘बजेट भनेको जनताको घरदैलोसम्म पुग्ने हुनुपर्छ । गोस्ठी, सेमिनार जस्ता तारे होटलमा खर्च गर्ने कार्यक्रम नबनाउनुस । दुरदराजमा रहेका जनताले प्रत्यक्ष अनुभव गर्ने बजेट आउनुपर्छ ।’ मन्त्रालयको बजेट सिलिङ बढाउन आफुले पहल गरिरहेको भन्दै चौधरीले कर्मचारीहरुले जनताको भावना बुझेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन ।

महिलाहरुलाई समुन्नत बनाउन आफुले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरेको र त्यसमा अर्थमन्त्री र प्रधानमन्त्रीले समेत चासो राखेको जनाउँदै देशका ७५३ वटै पालिकामा महिला मन्त्रालय पुग्ने जिकीर गरिन । १ अर्ब ५३ करोडको बजेटले सबै क्षेत्रमा काम गर्न नसकिने भएकोले नयाँ कार्यक्रम तयार पारेको भन्दै मन्त्री चौधरीले महिलाको हक–अधिकार संरक्षण र समतामूलक समाजको निर्माणका लागि विभिन्न कानुनी एवम् नीतिगत प्रयास भैरहेको पनि बताइन ।

राज्यले न्यायमा महिलाको पहुँच हुन नसक्नुका कारणहरूलाई उजागर गर्दै आवश्यक कानुनी तथा संरचनागत प्रयास गरिएको भन्दै मन्त्री चौधरीले जनताले फरकपन महशुष गर्ने गरि बजेट बनाउन सबै विभागीय प्रमुखलाई निर्देशन दिइन । उनले जनताबाट आएका सल्लाह सुझाव, सांसद तथा मन्त्रीहरुबाट आएका योजनाहरुलाई प्राथमिकीकरण गरी बजेट तर्जुमा गर्न निर्देशन दिइन ।


प्रकाशित मिति: २७ चैत्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?