८ पुष २०८१, सोमबार

जाजरकोटमा बढ्यो सुन्तला उत्पादन


जाजरकोट। सुन्तलाको पकेट क्षेत्र मानिएको जाजरकोटमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को भन्दा चालु आवमा २२ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण, परियोजना कार्यान्वयन इकाइ कार्यालय जाजरकोटले जनाएको छ ।

त्यस्तै, छ सय २५ हेक्टरमा सुन्तलाखेती हुँदै आएको कार्यालयका प्रमुख दीपेन्द्र पोख्रेलले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष प्रतिहेक्टरमा १०.७ मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष १३.१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाभरी यस आ.व.मा आठ हजार एक सय २० मेट्रिक टन सुन्तला उत्पादन भएको जनाउँदै उक्त सुन्तलाको मूल्य रू ३२ करोड ४८ लाख बराबरको रहेको पोख्रेलले बताए । त्यस्तै, करिब रू २७ करोडको सुन्तला बजारमा बिक्री भएको तथ्याङ्क परियोजना कार्यान्वयन इकाइ कार्यालयमा आएको उनले जानकारी दिए ।

त्यस्तै, अघिल्लो आवभन्दा यस आवमा १५ हेक्टर बढी क्षेत्रफलमा सुन्तलाखेती गरिएको जनाइएको छ भने तीन हजार दुई सय मेट्रिक टन बाहिर जिल्ला निर्यात भएको इकाइले कार्यालयले जनाएको छ । प्रतिकेजी रू ८० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामा चार पालिकामा सुन्तला जोन लागू भएको थियो ।
कुशे गाउँपालिकाको वडा नं १ देखि ९ सम्म, भेरी नगरपालिकाको वडा नं १ देखि १० सम्म, नलगाड नगरपालिकाको वडा नं १ देखि ६ सम्म र छेडागाड नगरपालिकाको वडा नं १०, ११ र १२ लाई सुन्तला जोनका रुपमा छुट्याइएको परियोजनाका प्रमुख पोख्रेलले जानकारी दिए ।

आ.व २०७४/७५ मा लागू भएको यो कार्यक्रमबाट यहाँका किसानले लाभ लिँदै आएका छन् । उहाँका अनुसार २१ समूह, ११ सहकारी, एक सय ३१ निजी क्षेत्र इकाइ कार्यालयमा सूचीकृत भएर काम गरिरहेका छन् भने बर्सेनि सुन्तलाखेती हुने जमिनको मात्रा बढ्दै जाँदा उत्पादनमा पनि वृद्धि हुँदै गएको पोख्रेलको भनाइ रहेको थियो ।

त्यस्तै, किसानको खेतबारीमा गएर प्राविधिकद्वारा विभिन्न तालिम, खेतीबारे जानकारी, आवश्यक उपकरणका साथै समयसमयमा गरिने छलफलले किसानलाई सुन्तला खेतीमा थप प्रोत्साहन मिलेको किसान शक्तिबहादुर ओलीले बताए। यसरी गरिएको छलफल प्रभावकारी बन्दै गएको उनको भनाइ रहेको थियो ।

अधिकांश सुन्तला बगैँचा रहेका स्थानसम्म सडक विस्तार भएकाले पनि किसानलाई बिक्रीवितरणमा सहजता भएको ओलीले बताए । परियोजनाले ढुवानीका सवारीसाधन खरिदमा अनुदान दिएकाले किसानलाई थप फाइदा भएको उनले जनाए ।

त्यस्तै, नलगाड–३ का अगुवा किसान कमल पुनले भने, “गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य स्रोत बन्दै गएको छ भने खाली जमिनभरि लगाइएको सुन्तलाका बोटले यतिबेला गाउँलाई नै सुन्तलामय बनाएको छ । यहाँका किसान अब व्यापारी भएका छन् ।” उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले किसानलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ ।

उक्त परियोजना कार्यान्वयन इकाइले नौ सदस्यीय सुन्तला तथा फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छभने सो परियोजना कार्यान्वयन कार्यविधि, २०७७ मा व्यवस्था भएबमोजिम जोन विकास कार्यक्रम सञ्चालनमा सहजीकरण गर्न समिति गठन गरिएको इकाइ प्रमुख पोख्रेललेजानकारी दिए ।

समितले विद्यमान प्रविधि र पूर्वाधारको अभिलेख तयार गर्ने, किसान समूह, सहकारी, उद्यमीदगायतको विवरण अध्यावधिक गर्ने, किसानको माग सङ्कलन गर्ने, कार्यक्रम सञ्चालनमा सहजीकरण गर्ने, परियोजनाअन्तर्गत सरोकारवालासँग समन्वय र सहकार्य गर्ने, पूर्वाधारको विकास, प्रयोग र सम्वद्र्धन गर्न सहयोग गर्नेछ । त्यस्तै योजना तर्जुमामा सहकार्य गर्ने, कार्यक्रम अनुगमन एवं पृष्ठपोषणमा सहजीकरण गर्नेलगायत काम गर्ने प्रमुख पोख्रेलले जानकारी दिए ।

विभिन्न ठाउँमा सुन्तलालाई सुरक्षित राख्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाको आर्थिक सहयोगमा ‘सेलार स्टोर’ स्थापना गरिएको पोख्रेलले जानकारी दिए । किसानलाई सुन्तलाबाट प्रशस्त आम्दानी गरी आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले जिल्लाका विभिन्न छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ भने सुन्तला सेलार स्टोरमा राखेर फागुनदेखि चैतसम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड–१० का नरेश विक्रम शाहले बताए ।

कुशे–५, ७ र ८, छेडागाड–१० र १२ र नलगाड– ३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दाबढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारी बजारमा ल्याई बिक्री वितरण गरी आर्थिक रुपमा सक्षम हुन यो प्रभावकारी हुने परियोजनाको भनाइ रहेको छ । सिजनमा सस्तोमा बिक्री हुने तथा कुहिएर खेर जाने समस्याको समाधानका सेलार स्थापना गर्न थालिएको पोख्रेलले बताए ।

उनका अनुसार प्रतिसेलार रू १५ लाख ८५ हजारमा निर्माण गरिएका छन् भने यसका लागि परियोजनाले रू १० लाख ३३ हजार तीन सय ३३ र किसानले रू पाँच लाख ६१ हजार छ सय ६७ खर्च गरेका छन् । त्यस्तै, पाँच मेट्रिक टन क्षमता रहेका सेलारमा छ महिनासम्म सुन्तला सुरक्षित राख्न सकिन्छ भने विद्युत् पुगेका ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको परियोजनाका धरम चन्दले जानकारी दिए ।

उक्त परियोजनाका अनुसार किसानको मागअनुसार आगामी वर्ष नयाँ ठाउँमा सेलार स्थापना गर्दै जाने योजना रहेको छ भने किसानका खेतबारीमा पुगेर मल प्रयोग गर्ने विधि, काँटछाट तथा औषधि दिनेलगायत प्राविधिक काममा किसानलाई सहयोग गरिरहेको चन्दले बताए ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?