२४ बैशाख २०८३, बिहीबार

जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने


जुम्ला। जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेर मात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य रूपमा नक्सा पास गरेको प्रमुख प्रशासकीय अधिकृत भिमा कँडेलले जानकारी दिएका छन् ।

यसअघि पालिकामा घर नक्सा पास सम्बन्धित कार्यविधि बनेको थिएन । कार्यकारी भएर आएदेखि नक्सा पास तथा निर्माण इजाजतका लागि कार्यपालिकाबाट निर्णय गरी कार्यविधि पास गरी जग्गाको नक्सा पासको काम सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत कँडेलको भनाइ रहेको छ । त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ बमोजिम पालिका क्षेत्रभित्र नक्सा पास गरेर मात्र निजी तथा सार्वजनिक भवन बनाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ । त्यसैगरी पालिकाभित्र कुनै पनि निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण सुरु गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाउन पनि अनिवार्य रूपमा गाउँपालिकाबाट नक्सा पास गराएरमात्र निर्माण गर्न नौवटै वडालाई परिपत्र गरिएको छ भने नक्सा पास नगरी निर्माण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत कँडेलले जानकारी दिए।

उक्त गाउँपालिकामा निर्माण हुने सार्वजनिक संरचनादेखि निजी पक्की घरलाई व्यवस्थित बनाउन अनिवार्य नक्सा पासको प्रावधान अगाडि सारेको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । नक्सा पास गरिसकेपछि निर्माण गर्दा पालना गर्नुपर्ने सर्तहरू लागू गरिएको छ भने नक्सा पास गरेसँगै निर्माण सम्पन्न भएको प्रमाणपत्रसमेत प्रदान गरिने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ रहेको छ ।

त्यस्तै, नक्सा पास गर्दा आवश्यक पर्ने कागजात रहेका छन् । जसमा नागरिकताको प्रतिलिपि एकप्रति, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि एकप्रति, सम्पत्ति कर बुझाएको रसिदको प्रतिलिपि एकप्रति, ट्रस नक्सा एकप्रतिलगायत कागजात नक्सा पास गर्ने स्थानीयवासीले ल्याउनुपर्ने तिला गाउँपालिकाको नक्सा शाखाले जनाएको छ ।

 


प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives