२५ बैशाख २०८३, शुक्रबार

‘बुद्धले देखाउनुभएको शान्ति र शिक्षा अँगाल्नुको विकल्प छैन’


२ ,मङ्सिर ,लेखनाथ (कास्की) । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विभिन्न जातजाति, धर्म र संस्कृतिमा धनी नेपालमा बुद्धले देखाएको शान्ति र शिक्षाको मार्गलाई अँगाल्दै अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

बैदाम तामाङ सेवा समाजद्वारा पोखरा–६ को खहरेमा निर्माण गरिएको पेमा धेछेनलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले अन्तिम सत्य शान्ति भएको विचार राख्दै बुद्धले दिनुभएको सन्देश विश्वभर फैलिएको बताए ।

“मानिस धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य शान्ति नै हो, बुद्धका सन्देशहरू नेपालमा मात्र नभएर विश्वमै फैलिरहेका छन्”, उनले भने ।

नयाँ पुस्तालाई संस्कार, संस्कृतिका साथै रीतिरिवाज हस्तान्तरण गर्दै सयौँ वर्षदेखि कायम सामाजिक सद्भाव अझ बलियो बनाउन आवश्यक भएको उनको भनाइ थियो ।

“बुद्धले विश्वमा जसरी शान्तिको सन्देश फैलाउनुभयो, त्यसरी नै हामी सबै नेपालीले शान्तिको बाटो अँगाल्दै अगाडि बढ्नुको विकल्प छैन”, उनले भने ।

रु दुई करोड ७५ लाखको लागतमा निर्माण गरिएको गुम्बामार्फत विदेशी तथा स्वदेशी पर्यटकको बसाइ लम्ब्याउने विश्वास लिइएको बताउँदै मुख्यमन्त्री पाण्डेले यसै गुम्बामा हुने बुद्ध मार्गका प्रवचनले विश्वमा शान्तिको सन्देशसमेत पुग्ने बताए ।

सो अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष गौबहादुर (ज्याक) तामाङ, बुद्ध जयन्ती समारोह कास्कीका अध्यक्ष चन्द्रबहादुर गुरुङ, तामाङ घेदुङ सङ्घका पूर्वअध्यक्ष धनप्रसाद तामाङ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले भनाइ राखेका थिए ।

गुम्बामा मङ्सिर २ देखि ९ गतेसम्म प्रज्ञा पारामिता त्रिपिटक कङ्ग्युर वाचन, विश्व शान्ति पूजा, गुम्बाको प्राण प्रतिष्ठालगायतका पवित्र काम हुनेछ । देश विदेशबाट जम्मा भएका एक सय आठ लामा धर्मगुरुले लगातार आठ दिनसम्म कङ्ग्युर पाठपूजा गर्नेछन् । सो गुम्बामा २८ फिट अग्लो अमिताभ बुद्धको प्रतिमा राखिएको छ ।


प्रकाशित मिति: २ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives