२६ पुष २०८१, शुक्रबार

भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान


२५ ,भाद्र ,काठमाडौँ । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आइडब्लुएफ विश्व च्याम्पियनशिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पुरुष ८१ केजी तौल समूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी दिए ।

विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा एक सय २४ केजी भार बहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे ।

एक सय २३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९औँ एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए । विकासले क्लिन एन्ड जर्कमा एक सय ४८ केजी वजन उठाउँदै अर्को कीर्तिमान कायम गरे ।

यसअघि उनले १९औँ एसियाली खेलकुदकै पहिलो चरणको छनोटमा एक सय ४७ केजीको कीर्तिमान रचेका थिए । कुलमा उनले उठाएको दुई सय ७२ केजी पनि राष्ट्रिय कीर्तिमान हो ।

उनकै नाममा दुई सय ७० केजीको कीर्तिमान थियो । विकास १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । यसैबीच अध्यक्ष श्रेष्ठ प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासङ्घको कङ्ग्रेसमा सहभागी हुन आजै रियाद प्रस्थान गरेका छन् ।

श्रेष्ठसँगै खेलाडी सागर भण्डारी पनि आजै रियाद प्रस्थान गरे । सागरले पुरुष एक सय नौ केजीमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले १६ वर्षपछि विश्व भारोत्तोलन च्याम्पियनशिपमा सहभागिता जनाएको हो ।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार