३१ जेष्ठ २०८२, बिहीबार

सु-संस्कृत समाज निर्माणका लागि सक्रिय बन्न नेकपा एमालेकाे आग्रह


बाजुरा: ‘विवाद, झगडा, अभाव र समस्या मात्रै देखिने जिल्लाको परिचय बदल्ने गरी राजनीतिक सहकार्य र एकताका लागि अभियानकै रूपमा घोषणा गरेर अगाडी बढ्ने नेकपा एमाले बाजुराले जनाएकाे छ । सु-संस्कृत समाज निर्माणका लागि नेकपा एमालेले अभियानकाे रुपमा लिने संकल्प गरेकाे छ ।

चुनावमा बुथ कब्जा गरिने, गलत राजनीतिक संस्कार देखाउने, मान्छे मार्ने र नुन समेत अभाव हुने गलत सन्देश दलीय एकता अभावकै कारण भइरहेको नेकपा एमाले बाजुराका अध्यक्ष  लाल बहादुर ओलीले पत्रकार सम्मेलन मार्फत बताएका छन । सदरमुकाम मार्तडीमा पार्टीकाे प्रतिनीधी परिषद् बैठक र पार्टी जिल्ला कमिटीकाे बैठकका निर्णय सार्बजनिक गर्दै  अध्यक्ष ओलीले यस्ताे बताएका हुन  । एमाले बाजुराको प्रतिनिधि परिषद् बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा योगदान गर्न जिल्लामा मिसन ०८४ लक्ष्य पूरा गर्ने दायित्वलाई प्राथमिकतामा राखेको छ । एमालेबाट विजयी पालिकाको काम कारबाही र राजनीतिक व्यवहारमा समेत सुधार ल्याउने नीतिमा एमाले देखिएको छ । एमाले हरेक जनताको अन्तर मनमा बसाउन, नेता र कार्यकर्ताको कार्य जिम्मेवारीलाई आत्मसाथ गर्दै सशक्त जनता, सचेत नेता, सुदृढ सङ्गठन बनाउन सम्पूर्ण पार्टी सदस्यको सक्रियतालाई एमालेले पहिलो प्राथमिकतामा राखेको छ ।

सामुदायिक विकास, सुशासन, समानता, न्याय र अमनचयन कायम गर्न स्थानीय तह तथा सुरक्षा निकायका अभियानमा सहजीकरण गर्न एमाले बाजुरा प्रतिबद्ध रहेको जनाएको छ । एमालेले बाजुरालाई राज्यस्तरबाटै विभेद भएको भन्दै कर्णाली प्रदेश सरहको सहुलियत प्राप्त गर्ने नीतिगत व्यवस्थाका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।  जुराको शैक्षिक गुणस्तर बर्सेनि कमजोर भइरहेको भन्दै सुधार गर्न आवश्यक लगानी, मानवस्रोत, भौतिक व्यवस्थान गर्न तीन तहका सरकार, शिक्षक, अभिभावकलगायत सरोकारवालाको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ ।

जिल्लामा लागू औषधको कुलतमा युवा समुदाय परिरहेको भन्दै नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनलाई संयुक्त अभियान सञ्चालन गर्न आह्वान गरेको अध्यक्ष ओलीले बताए । कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र जडांगामा रहेको बेलिबृज दानसाँगुमा सार्नका लागि विभिन्न निर्णय सरकारका निकायहरूमा पेश गरिए पनि सुनुवाइ नभएकाले कार्यान्वयनको लागि संघीय सरकारसँग माग गरेको छ । ठेकेदारहरूको लापरबाहीका कारण धेरै विकास निर्माणका कार्य अलपत्र रहेको भन्दै तत्काल कानुनी ताकेता गरी कार्य सम्पन्न गराउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

बडीमालिकाको त्रिवेणी पाटन र हिमाली गाउँपालिकाको रानीसैन जस्ता धार्मिक तथा प्राकृतिक क्षेत्रहरू बाजुरामै पर्ने छिमेकी प्रदेश तथा जिल्लाका सरकारी लगानीमा संरचना निर्माण गरेर सिमाना अतिक्रमण गरी रहेको भन्दै बैठकले केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यानाकार्षण गराउने प्रस्तावसमेत पारित गरेको छ ।  नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा केन्द्रीय लेखा आयोग समिति सदस्य बसुन्धरा रोकाया, जिल्ला कमिटी सदस्यलगायत पत्रकारहरूको उपस्थिति थियो ।


प्रकाशित मिति: ५ जेष्ठ २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार