बाजुरा: जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा पर्ने कर्णाली करिडोरमा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा चालक सहित ६ जना यात्रु घाइते भएका छन् । कोल्टीबाट धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।
कोल्टीमा कक्षा १२ को परिक्षा दिएर घर फर्किने क्रममा कर्णाली करिडोरमा पर्ने खिउने खोलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जीप दुर्घटनामा परी घाइते हुनेमा जीप चालक हिमाली गाउँपालिका–२ विच्छ्याँका २० वर्षीय सविन बोहरा, वडा नम्बर ५ की १८ वर्षीया रंगिता बुढा,सोही वडाकी १८ वर्षीया जुनिता बुढा घाइते भएकी छन् ।
यस्तै जीप दुर्घटनमा परी हिमाली गाउँपालिका–५ का १९ वर्षीय विवेक बुढा,वडा नम्बर ६ की २२ वर्षीया अस्मिता शाही र वडा नम्बर ५ फैतीका १८ वर्षीया विज्ञान सार्की रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा परी घाइते भएका ६ जनाको उपचारका लागि हिमाली गाउँपालिकाको एम्बुलेन्समा कोल्टी आधारभूत अस्पतालमा ल्याइएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको टाउको,हात खुट्टामा चोट लागेको छ ।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार